काठमाण्डौ । केही समय लगातार बढेर ५६ हजारमा स्थिर रहेको पहेँलो धातु सुनको भाउ मंगलबार भने तोलामा ८ सय रुपैयाँ घटेको छ । 
 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५५ हजार २ सय रुपैयाँ प्रति तोलाको भाउ किनबेच भइरहेको छ । 
 

फागुन अन्तिम सातादेखि सोमबारसम्म सुनको भाउ तोलामा ५६ हजार रुपैयाँदेखि तल झरेको थिएन । फागुन २३ र २४ गते ५६ हजार २ सय, फागुन २५ र २८ गते ५६ हजार ५ सय, फागुन २६ गते ५६ हजार ३ सय, फागुन २७ गते ५६ हजारमा कारोबार भएको थियो । फागुन ३० गते ५६ हजारमा कारोबार भएको सुन चैत १ गते पनि सोही मूल्यमा कारोबार भएको थियो । 
 

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघको भनाई छ । मंगलबार तेजावी सुन भने ५४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 
 

मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार ७ सय ३० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।