काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले २५ महिनाको रेकर्डलाई तोड्दै आइतबार नयाँ रेकर्ड बनाएको छ । २०७० साल चैतमा सुनको भाउ तोलाको ५५ हजार ८ सय थियो । त्यसपछि गत फागुन १४ गते तोलाको ५६ हजार ५ सयमा कारोबार भएर रेकर्ड कायम भएको सुनको भाउ शुक्रबार सोही विन्दूमा आइपुगेको थियो । २०७० साल चैत हुँदै २०७२ फागुन र गत शुक्रबारको रेकर्डहरुलाई समेत पछि पार्दै पहेलो धातु सुनको भाउ आइतबार तोलाका ५७ हजार रुपैयाँ पुगेको हो । 

अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्य, डलरमा आएको निरन्तरको कमजोरी तथा कच्चा तेलको भाउमा निरन्तर भइरहेको बढोत्तरीले नेपाली बजार समेत प्रभावित भई सुनको भाउले नयाँ विन्दू चुमेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका सभापति मणिरत्न शाक्यका अनुसार आइतबार सुन तोलामा ५ सय रुपैयाँले बढेर ५७ हजार पुगेको हो । 

२०७२ फागुन १४ गते नेपाली बजारमा सुन तोलाको ५६ हजार ५ सयको दरले किनबेच भएको थियो । फागुन १८, २१, २५ र २८ गते पनि सुन यही मूल्यमा किनबेच भएको थियो । शुक्रबार गत तोलामा १२ सय रुपैयाँले वृद्धि भई सुनको भाउ ५६ हजार ५ सय पुगेको थियो । 

नयाँ वर्ष सुरु भएसँगै १९ दिनको अवधिमा सुनको भाउ तोलामा २६ सय रुपैयाँले बढिसकेको छ । पछिल्लो समय सुनको भाउ बैशाख १२ गतेदेखि नै वृद्धि हुन थालेको थियो । सो दिन प्रति तोला ५४ हजार ८ सयमा कारोबार भएको सुन त्यसपछि हरेक दिन उकालो लागिरहेको हो । बैशाख महिनामा सुनको भाउ सबैभन्दा कम तोलाको ५४ हजार ४ सयमा किनबेच भएको थियो । 

विगत केही महिनादेखि सुनको भाउमा उतारचढाव आइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका सभापति मणिरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भई कच्चा तेलको मूल्य बढेसँगै सुनको भाउ समेत आकाशिएको हो, त्यसैको प्रभाव नेपाली बजारमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका कारण सुनको मूल्य बढेको शाक्य बताउँछन् । सुन उत्पादनमा तेलको खपत हुने गर्छ, त्यही भएर सुनको मूल्य तेलको मूल्यको उतारचढावसँग अन्तरसम्बन्धित हुन्छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५० डलरको नजिक पुगिसकेको छ । 

चाँदीमा पनि बढोत्तरी


अन्तर्राष्ट्रिय बजारमा अनपेक्षित वृद्धि भइरहेको चाँदीको भाउ नेपाली बजारमा समेत बढ्ने क्रम जारी नै छ । बैशाख ८ गतेदेखि ह्वात्तै बढेको चाँदीको भाउ शुक्रबार एकैदिन तोलामा १५ रुपैयाँले वृद्धि भई ८ सय रुपैयाँमा किनबेच भएको थियो । आइतबार चाहि प्रति तोलामा ५ रुपैयाँले बढेर चाँदी तोलाको ८०५ रुपैयाँमा किनबेच भइरहेको छ । बैशाख ७ गतेसम्म प्रति तोला ७५० रुपैयाँ रहेको चाँदी ८ गते ७७५ भएको थियो । यो मूल्य १३ गतेसम्म स्थिर रह्यो । १४ गते ७८० भएको चाँदी १५ र १६ गते ७८५ कायम भयो । चाँदी तीन वर्षअघि प्रति तोलाको १३ सय रुपैयाँसम्म पुगेको थियो । सो बेला सुनको भाउ तोलाको ६३ हजारसम्म पुगेको थियो ।