काठमाण्डौ । पहेँलो धातु सुनको भाउ २०७० चैतमा कायम भएको उच्च विन्दू नजिक पुगेको छ । 
 

तोलामा २ सय रुपैयाँले बढेर मंगलबार सुनको भाउ ५५ हजार ७ सय रुपैयाँ पुगेको हो । २०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसदेखि हालसम्म सुनको भाउ ५५ हजार ८ सय पुगेको थिएन । मंगलबार एकैदिन तोलामा २ सय रुपैयाँले वृद्धि भई सुनको भाउ करिब २ बर्षअघिको उच्च विन्दू नजिक पुगेको हो । 
 

अघिल्लो साता केही घटबढ भएको सुनको भाउ यो साताको आइतबार र सोमबार प्रति तोला ५५ हजारमा अडिएको थियो । दुई साताअघि एक्कासी बढ्न थालेको सुनको भाउ अघिल्लो साताको केही दिन केही घटेर फेरि उकालो लाग्ने क्रम सुरु भएको थियो । साताको पहिलो २ दिन स्थिर रहेको सुन मंगलबारदेखि बढ्न थालेको र यो क्रम केही दिनसम्म रहनसक्ने विश्लेषण गरिएको छ । 
 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेको, अमेरिकी डलरसँग नेपाली रुपैयाँको सटही दर समेत उच्च भएको तथा विवाहको लगन समेत रहेका कारण स्थानीय बजारमा सुनको मूल्य उकालो लागेको विश्लेषकहरुले बताएका छन् । 
भाउ लगातार उकालो लागेपछि २ महिनाको अवधिमा सुन प्रति तोलामा ८ हजार ७ सय रुपैयाँ महंगो भइसकेको छ । पछिल्लो तीन सातामा मात्र सुन प्रति तोला ४ हजार ७ सय रुपैयाँ बढेको छ । 

 

कात्तिकको पहिलो साता सुनको भाउ प्रति तोला ४७ हजार रुपियाँसम्म ओर्लिएको थियो । त्यसपछि उकालो लाग्न थालेको भाउ माघ लागेपछि ५ हजार ७ सय रुपैयाँ महंगो भइसकेको छ ।   
 

विश्व अर्थतन्त्रमा देखिएको मन्दीको समस्या र घट्दो तेलको मूल्यमा  अपेक्षित सुधार नभएका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने संभावना रहेको छ । 
 

सुनको भाउ बढे पनि चाँदीको भाउमा खासै बढोत्तरी भएको छैन । दुई साताअघि प्रति तोला ७ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार भने तोलाको ७ सय ३५ मा खरीदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।