काठमाण्डौ । महाभूकम्पले थला परेको अर्थतन्त्र र आर्थिक गतिविधि भारतले ५ महिनासम्म लगाएको नाकाबन्दीका कारण थप थिलथिलो बन्यो । यो अवधिमा उद्योग र व्यापार क्षेत्र चौपट बन्यो । आर्थिक गतिविधि शून्यप्राय हुँदा, बजार सुस्त बन्दा र दुईछाक खानलाई नै कतिपय सर्वसाधारणलाई  धौ धौं पर्दा सुनचाँदीका गरगहना खरीद गर्नेहरु समेत निरुत्साहित भए । जसका कारण २०७२ साल सुनचाँदी व्यवसायीका लागि कालोवर्ष साबित भयो । व्यापार चौपट भयो भने संचालन खर्च यथावत हुँदा व्यवसायीले निकै ठूलो मार व्यहोर्नुपर्यो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य पनि २०७२ सुनचाँदी व्यवसायीका लागि कालोवर्ष बनेर गएको बताए । उनका अनुसार महाभूकम्पको अवधिमा मानिसहरु चिल्लीबिल्ली हुँदा र ज्यान जोगाउने अभियानमा लाग्दा देशभरका व्यवसायीहरुको करिब १ हजार किलो सुन नै गायब भयो । नेपालको सुनचाँदी बजारमा कालीगढको रुपमा काम गर्ने अधिकांश  भारतीयहरु रहेका र उनीहरुले भूकम्पको मौका छोपेर आफूसँग भएको सुनचाँदी नै लिएर आफ्नो देश पलायन हुँदा व्यवसायीले नसोचेको घाटा व्यहोर्नुपरेको शाक्यको दाबी छ । ‘कालीगढहरु सुनचाँदी नै बोकेर घर गए र उनीहरु नेपाल फर्किएनन् ।’ उनले थपे–‘यस्तै’यस्तै कारणले महाभूकम्पकै बेला व्यवसायीका १ हजार किलो सुन हरायो ।’ 

सुन हराएसँगै भूकम्पका कारण व्यापार चौपट बन्यो । आर्थिक गतिविधि सुस्त हुँदा र मानिसको जनजिविकाको सवाल प्राथमिक बनेर आउँदा सुनचाँदीको गरगहना खरीद गर्नेहरु पनि घटे, जसका कारण सुनचाँदी व्यवसाय टाट पल्टने अवस्थामा पुगेको उनको भनाई छ । व्यापारमा मन्दी आएर घाटा सहे पनि संचालन खर्च यथावत हुँदा यसले अर्को भार थोपरेको व्यवसायीको बुझाई छ । 

भूकम्पका कारण चौपट बनेको सुनचाँदी व्यवसाय केही तंग्रिन खोजिरहेको बेला भारतले लगाएको नाकाबन्दीले थप सकसमा पर्यो । नाकाबन्दीकै कारण बजारमा ग्यास, इन्धन, खाद्यान्नको अभाव भएपछि मानिस त्यो अभाव टार्नतर्र्फ लागे, जसका कारण चाहेर पनि मानिसको प्राथमिकतामा सुनचाँदीको खरीद परेन । यसले सुनचाँदी व्यवसाय थप चौपट बन्यो । आएका अर्डरहरु समेत समयमा व्यवसायीले दिन सकेनन् । सुनचाँदीको गरगहना बनाउन आवश्यक एलपी ग्याँस समेत बजारमा सहज पाइएन, पाइएकोलाई  पनि अधिक मूल्य तिर्नुपर्ने अवस्था भयो । यसले समेत व्यापार थप चौपट बनेको अध्यक्ष शाक्यको भनाई छ । ‘भूकम्प र नाकाबन्दीका कारण टाट पल्टने अवस्थामा पुगेकै कारण २०७२ हाम्रा लागि कालोवर्ष सावित भयो ।’ उनले भने–‘२०७३ सुखद हुने आशा गरेर बसेका छौ ।’ 

भाउमा उतारचढाव


२०७२ सालभरि सुनचाँदीको मूल्यमा समेत भनेसम्मकै उतारचढाव देखियो । सुनचाँदीको बजारमा मूल्यको उतारचढावले समेत कतिपय व्यवसायीलाई डूबायो भने  विचार पुर्याएर सुनचाँदी खरिदारी गर्ने र समयमा बिक्री गर्ने केही सीमित उक्सिए पनि । 

२०७२ बैशाखको सुरुवातमा सुन प्रति तोला ५१ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । बैशाख ३१ गते पुग्दा सो मूल्यमा केही बढोत्तरी भयो र सुनको मूल्य प्रतितोला ५३ हजार कायम भयो । बैशाख १ गते प्रतितोला ६ सय ९५ मा कारोबार भयो चाँदी ३१ गते बढेर ७ सय ३५ रुपैयाँ पुग्यो । 

जेठ महिना सुनको भाउमा केही उतारचढाव देखियो । जेठ १ गते प्रति तोला ५३ हजारमा कारोबार भएको सुन जेठ ३२ गते चाहि घटेर ५१ हजार ९ सयमा झर्यो । चाँदी यो महिना न्यूनतम ७ सय र अधिकतम ७ सय ५० प्रति तोलाको दरले खरीदबिक्री भयो । 

जेठको तुलनामा असार महिनामा सुनचाँदीकै भाउ केही घट्यो । असार १ गते ५२ हजार प्रति तोलामा कारोबार भएको सुन ३१ गते घटेर ५० हजार २ सयमा झर्यो । चाँदी पनि ७ सय ५ बाट झरेर ६ सय ६५ मा आइपुग्यो । 

साउन महिनामा सुन भाउ थप ओरालोतर्फ लाग्यो । साउन १ गते ४९ हजार ५ सय प्रतितोलामा खरीदबिक्री भएको सुन साउन ८ मा सबैभन्दा कम ४७ हजार २ सय रुपैयाँ कायम भयो । चाँदी चाहि साउन महिनाभरिमा सबैभन्दा कम ८ गते ६ सय ६० रुपैयाँ प्रतितोला र सबैभन्दा बढी ३२ गते ७ सय रुपैयाँ कायम भयो । 

भदौ महिनामा सुनको भाउमा झिनो सुधार देखियो । भदौ १ गते ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन महिनाभरिमा सबैभन्दा बढी भदौ ७ गते ५१ हजार ९ सय रुपैयाँमा कारोबार भयो । यो महिना चाँदीको मूल्य सबैभन्दा बढी भदौ ४ गते ७ सय १५ र सबैभन्दा कम ६ सय ७५ भदौ ३० गते कायम भयो । 

असोज महिनामा सुनको मूल्यमा खासै उतारचढाव देखिएन । यो महिनामा १५ गते सबैभन्दा कम ४९ हजार ५ सय र २८ गते सबैभन्ददा बढी ५१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भयो । चाँदी सबैभन्दा कम तोलाको ६ सय ८० रुपैयाँ असोज १५ मा र सबैभन्दा बढी २९ गते ७ सय २५ रुपैयाँमा किनबेच भयो । 

कात्तिक महिनामा पनि सुनको मूल्यमा खासै ठूलो परिवर्तन भएन । यो महिना सबैभन्दा कम कात्तिक २९ गते प्रति तोला ४८ हजार ७ सयमा किनबेच भएको सुन १ गते चाहि सबैभन्दा बढी ५१ हजार ४ सय मा कारोबार भएको थियो । चाँदी कात्तिक ३० गते ६ सय ८० र कात्तिक १ गते ७ सय २५ रुपैयाँमा किनबेच भयो । 

मंसिरमा समेत सुनको भाउमा खासै ठूलो उतारचढाव देखिएन । यो महिना सबैभन्दा बढी २१ गते ४९ हजार रुपैयाँ र सबैभन्दा कम १७ गते ४८ हजारमा कारोबार भयो । चाँदी न्यूनतम तोलाको ६ सय ७० देखि अधिकतम ६ सय ८० मा कारोबार भयो । 

पुस महिनामा सुन प्रति तोला न्यूनतम ४७ हजार ७ सयदेखि अधिकतम ४९ हजार ९ सयमा किनबेच भयो । चाँदी समेत अघिल्लो महिनाको जस्तै प्रति तोला ६ सय ७० देखि ६ सय ८० कै बीचमा दौडिरह्यो । 

पुससम्म खासै उत्साह नदेखिएको सुनचाँदीको भाउमा अन्तराष्टिय बजारमा कच्चा तेलको मूल्यमा आएको भारी गिरावट र डलरको मूल्य समेत बढ्न थालेपछि त्यसको असर नेपाली बजारमा समेत देखियो । फलस्वरुप विगत केही महिनाको रेकर्डलाई तोड्ददै माघ महिनामा सुनको मूल्य प्रतितोला ५५ हजार ५ सयसम्म पुग्यो । यो महिना १ गते ४९ हजार ७ सय न्यूनतम रहेको सुनको मूल्य २९ गतेसम्म अधिकतम ५५ हजार ५ सयसम्म पुगेको थियो । सुनसँगै चाँदीको मूल्य पनि उकालोतर्फ दौडिएको देखियो । माघ १ गते ६७५ रुपैयाँमा कारोबार भएको चाँदी २९ गते अधिकतम ७४५ रुपैयाँमा किनबेच भयो । 

फागुन महिनामा केही महिनाको अवधिको सबैभन्दा धेरै मूल्य कायम भयो सुनको । यो महिना ४ गते सबैभन्दा कम ५४ हजार ६ सयमा कारोबार भएको सुनको भाउ २८ गते ५६ हजार ५ सय रुपैयाँ पुग्यो । चाँदी १९ गते ७ सय १५ र २ गते अधिकतम ७ सय ४५ कायम भयो । 

वर्षको अन्तिम महिना चैतमा समेत सुनचाँदीको मूल्यमा उतारचढाव देखियो । चैत २२ र २३ गते न्यूनतम ५३ हजार ८ सयमा कारोबार भएको सुन चैत १ गते चाहि ५६ हजारमा किनबेच भएको थियो । वर्षको अन्तिम दिन मंगलबार सुन प्रति तोला ५५ हजार २ सयमा कारोबार भएको छ । चाँदी चाहि प्रतितोला ७ सय ३५ मा कारोबार भयो ।