काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेको, अमेरिकी डलरसँग नेपाली रुपैयाँको सटही दर समेत उच्च भएको तथा विवाहको लगन समेत रहेका कारण स्थानीय बजारमा विगत २ महिनादेखि उकालो लागेको सुनको भाउ शुक्रबार एकैदिन प्रति तोलामा १ हजारले बढेर नयाँ विन्दूमा पुगेको छ । बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिनमै सुनको भाउ तोलाका २ हजार ५ सयले बढेको हो ।    
 

मंगलबार प्रति तोलामा १ हजारले बढेर सुनको मूल्य स्थानीय बजारमा प्रति तोला ५४ हजार कायम भएको थियो । बिहीबार फेरि मूल्य बढेर प्रति तोला सुनको भाउ ५४ हजार ५ सय कायम भयो । सुनको मूल्य अझै उकालो लाग्ने आँकलनका बीच शुक्रबार बजारमा सुन प्रति तोलामा १ हजारले बढी अर्थात ५५ हजार ५ सय पुगेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ३ सय रु. घटेर प्रतितोला ५३ हजारमा झरेको सुनको मूल्य मंगलबारदेखि उच्च दरमा बढ्न थालेको हो । भाउ लगातार उकालो लागेपछि २ महिनाको अवधिमा सुन प्रति तोलामा ८ हजार ५ सय रुपैयाँ महंगो भइसकेको छ । पछिल्लो एकसातामा मात्र सुन प्रति तोला ४ हजार ५ सय रुपैयाँ बढेको छ । गत आइतबार सुन प्रति तोला ५१ हजार २ सय रुपियाँमा किनबेच भएको थियो ।    
 

कात्तिकको पहिलो साता सुनको भाउ प्रति तोला ४७ हजार रुपियाँसम्म ओर्लिएको थियो । त्यसपछि उकालो लाग्न थालेको भाउ माघ लागेपछि साढे ५ हजार महंगो भइसकेको छ । माघ १ गते सुन प्रतितोला ४९ हजार ७ सयमा कारोबार भएको थियो ।    
 

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ तीव्र रफ्तारमा उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ लगातार बढेका कारण त्यसको प्रभाव नेपालको बजारमा समेत परिरहेको विश्लेषकहरुले बताएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार तेलको मूल्य न्यून विन्दूमा झरेको तथा शेयर बजारको लगानी समेत जोखिममा पर्न थालेपछि लगानीकर्ताहरु सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित भएका छन्, यो कारणले समेत सुनको माग बढी भई मूल्य बढेको हो ।    
 

विश्व अर्थतन्त्रमा देखिएको मन्दीको समस्या र घट्दो तेलको मूल्यमा सुधार नभएका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने संभावना रहेको विश्लेषकहरुले बताएका छन् । यसको अर्थ, नेपालको स्थानीय बजारमा समेत सुनको मूल्य अझ उकालो लाग्नेछ । सुनको मूल्य यसअघि नेपाली बजारमा प्रति तोला ६३ हजारसम्म पुगिसकेको छ । मन्दी आउँदा प्रति तोला ४४ हजारसम्म सुनको किनबेच भएको थियो । पछिल्लो समय २०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय पुगेको थियो ।    
 

सुनको भाउलाई पछ्याउँदै मंगलबार प्रति तोलामा १५ रुपियाँले बढेर ७१५ तथा बुधबार प्रति तोला ७ सय ३० पुगेको चाँदीको भाउ शुक्रबार भने थप १५ रुपियाँ बढी प्रति तोला ७ सय ४५ मा किनबेच भइरहेको छ ।    
 

अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ रेकर्ड 
कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै भारतीय बजारमा समेत सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन । त्यहाँका संचारमाध्यमहरुका अनुसार स्थानीय बजारमा सुनको मूल्यमा जनवरी १ देखि हालसम्म प्रति दशग्राममा ४ हजार भारु वृद्धि भइसकेको छ । भारतमा प्रति दशग्राम सुनको मूल्य २८ हजार भारु नाघिसकेको छ । त्यहाँका विश्लेषकहले आगामी दुई महिनाभित्र सुनको मूल्य २९ हजार ५ सयसम्म पुग्नसक्ने प्रक्षेपण गरिसकेका छन् । जनवरी १ मा २४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य दिल्लीमा  २८ हजार ५ सय  ८५ पुगेको छ भने मुम्बईमा २८ हजार ४ सय पुगेको छ ।    

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उसैगरी बढिरहेको छ । सन् २०१५, २२ जुनपछि पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १२ सय डलर भन्दा माथि पुगिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा तीव्र उकालो लागेको सुनको मूल्य सन् २०१३ को जुलाईपछि अहिले नै सबैभन्दा धेरै बढेको एजेन्सीहरुको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सन् २०११ पछि अहिले नै सबैभन्दा बढी लगातार रुपमा सुनको भाउ उकालो लागेको समेत बताइएको छ ।