काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेको छ। 

पुस २१ गते भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको पुष्टि भएपछि सीआईबीले खत्रीलाई आइतबार प्रहरी मुख्यालयबाटै पक्राउ गरेको हो। 

ब्युरोले यसअघि पक्राउ गरेका विमानस्थल भन्सार कार्यालयका अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकालको बयानका आधारमा खत्रीलाई पक्राउ गरेको स्रोतले बताएको छ। 

भन्सार अधिकृत यादव र खत्रीबीच लामो समयदेखि दुबईबाट आउने सुन कसरी बाहिर लैजाने भन्नेबारे दिनहुँजसो कुराकानी हुने गरेको थियो। दुबईबाट सुन आउनेबारे खत्री र यादवलाई पहिल्यै जानकारी भएको स्रोतले बताएको छ। 

विमानस्थलमा आएको सुन बिनाअवरोध बाहिर ल्याउनेबारे उनीहरूबीच पटकपटक छलफल हुने गरेको अनुसन्धानले देखाएको छ। उनीहरूले आफ्नो मोबाइलबाट हत्पती कसैसँग कुरा नगर्ने भन्दै धेरैजसो ‘भाइबर' बाट कुरा गर्थे। 

तस्करले गराएको सेटिङअनुसार नै दुवैजनाले काम गर्दै आएका थिए। पुस २० गते बेलुका आएको सुन विमानस्थलमै रहेपछि खत्री र यादवले गोप्य ढंगले सुन भएको सुटकेसको निगरानी गरेको स्रोतले बताएको छ। 

यादवले भन्सार कार्यालयका अन्य कर्मचारीलाई सेटिङ गराएका थिए। ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सुन प्रकरणमा एसएसपी खत्रीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए। सिलवालले भने, ‘उनीहरूको थप कनेक्सनबारे अनुसन्धान भइरहेको छ। छिट्टै टुंगोमा पुग्छौं।' 

खत्री विमानस्थल गएदेखि नै प्रहरी मुख्यालयको निगरानीमा थिए। उनको शंकास्पद गतिविधि बढेपछि सीआईबीले निगरानी बढाएको थियो तर यथेष्ट प्रमाण भेटिसकेको थिएन। पुस २१ को सुन तस्करी प्रकरणमा खत्रीको संलग्नता देखिएपछि सीआईबीलाई उनीमाथि अनुसन्धान गर्न सहज भएको स्रोतले बताएको छ। त्यही घटनाले खत्री सुन तस्करीमा संलग्न हुँदै आएको पुष्टि गरेको छ। 

सुन तस्करको समूहले नै भन्सारका कर्मचारी र खत्रीबीच चिनजान र सेटिङ गराइदिएको स्रोतले बताएको छ। विमानस्थलबाट सुन बाहिरिएको दिन पुस २१ गते खत्री विमानस्थलमै थिए। एसएसपी खत्री विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकृत हुन्। 

विमानस्थल सुरक्षा प्रमुखमा डीआईजी गोविन्द निरौला छन्। खत्री सुन तस्करीमा संलग्न भएको भन्दै यसअघि नै पटकपटक उजुरीसमेत परेपछि मुख्यालयले उनीमाथि छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो। सीआईबीले त्यसबेला यथेष्ट प्रमाण नपाएपछि तत्कालका लागि अनुसन्धान रोकेको थियो। पुस २१ मा विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको घटनामा छानबिन गर्दा खत्रीको संलग्नता देखिएपछि ब्युरोले उनीमाथि पुनः अनुसन्धान थालेको थियो। 

सुन तस्करलाई सहयोग गरेको आशंकामा माघ ३ गते खत्रीलाई प्रहरी मुख्यालयले विमानस्थलबाट फिर्ता बोलाएको थियो। प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर ‘सुरक्षा कमजोरी' (सेक्युरिटिज ल्याप्सेज) भएको भन्दै खत्रीलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाएको थियो। 

प्रहरी मुख्यालय फिर्ता बोलाएपछि ब्युरोले खत्रीको संलग्नताबारे थप अनुसन्धान गरेको हो। ब्युरोले एक्स रे मेसिनले शंकास्पद वस्तु देखाए पनि त्यसलाई बेवास्ता गर्दै सेटिङमा सुन पास गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतहरू यादव र राजकुमार ढकाललाई पक्राउ गरेपछि सुन तस्करी प्रकरणबारे थप रहस्य खुलेको थियो। 

एसएसपी खत्रीले भन्सार अधिकृत यादवसँग लामो समयसम्म शंकास्पद कुराकानी गरेको अनुसन्धानले देखाएपछि प्रहरी मुख्यालयले उनलाई फिर्ता बोलाएको थियो। खत्री र यादवबीचको सम्बन्ध सौहाद्र्रपूर्ण रहेको र दुवैजनाले विमानस्थलबाट सुन बाहिर लैजान तस्करलाई सघाएको स्रोतको दाबी छ। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।