काठमाण्डौ । सूर्य लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र त्यसपछि ४० प्रतिशत हकप्रद दिने निर्णय गरेको छ ।

नेप्सेमा  बिहीबार प्रकाशित सूचनाअनुसार बैशाख १३ गते सम्पन्न बोर्ड बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३४ लाख ५३ हजार ९ सय ४७ रुपैयाँ नगद लाभांश वितरणको निर्णय गरेको छ । बोनसपछि  कायम हुन आउने चुक्तापुँजीको ४० प्रतिशत(१० बराबर ४)को अनुपातमा हकप्रद वितरणको निर्णय समेत बोर्ड बैठकले गरेको छ । यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

हाल यो बिमा कम्पनीको चुक्तापुँजी ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७१/७२ का लागि सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको  थियो, बिहीबार भएको साधारणसभाले यो प्रस्ताव पारित गरेको छ । ५ प्रतिशत बोनस सेयरको पुँजीकरणपछि चुक्तापुँजी ६५ करोड ६२ लाख रुपैयाँ पुग्नेछ । यस्तै, १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रदपछि चुक्तापुँजी १ अर्ब १ करोडको उचाईमा पुगेको छ ।