काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई १०० बराबर ८५.९० को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ । 

प्राप्तिको प्रक्रियाको क्रममा भएको ड्यूू डेलिजेन्स अडिट(डिडिए)बाट सेञ्चुरीले दुवै विकास बैंकलाई समान स्वाप रेसियोमा गाभ्ने निश्कर्ष निस्किएको हो । 

सेञ्चुरीले यी दुुई विकास बैंकलाई गाभेलगत्तै सगरमाथा फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई समेत गाभ्ने सहमति गरिसकेको छ । 

सेञ्चुरी बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकहरुको प्राप्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन आगामी चैत ३१ गते छैठौं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । 

साधारणसभामा आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट १० प्रतिशत बोनस दिने संचालक समितिको प्रस्ताव समेत पेश हुनेछ । यस्तै, इन्नोभेटिभ र अरिनकोलाई गाभेपछि कायम हुन आउने चुक्तापूँजीको ४० प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव समेत साधारणसभामा पेश हुने बताइएको छ । 

बैंकले बिहीबार प्रकाशन गरेको सूचना अनुसार अधिकृत पूँजी बढाएर ८ अर्ब पुुर्याउने र चुक्तापूँजी ६ अर्ब ६० करोड पुर्याउने प्रस्ताव समेत पेश हुँदैछ । 

साधारणसभा प्रयोजनका लागि सेञ्चुरी बैंकका सेयरधनीको दर्ता पुस्तिका चैत १८ गतेदेखि ३१ गतेसम्म बन्द हुने बताइएको छ । चैत १७ गतेसम्म सेञ्चुरीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेका सेयरधनी मात्र बोनस सेयर पाउन तथा एजीएममा सहभागी हुन योग्य मानिनेछन् । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २२ करोड ३९ लाख खूद नाफा आर्जन गरेको छ । देशकै कान्छो वाणिज्य बैंक भए पनि यो बैंकका सूचकहरु पछिल्लो समय निकै बलियो बन्दै गएका छन् ।