काठमाण्डौ । डिमार्ट नामको रिटेल कम्पनीका मालिक राधाकिशन दमानी त्यस्ता भाग्यमानी साबित भएका छन्, जो सोमबारसम्म एक विजिनेशम्यान मात्र थिए, तर मंगलबार एकाएक भारतकै टप अर्बपति बन्न सफल भए । उनको सम्पत्ति एकदिनमै यति धेरै बढ्यो कि सोमबारसम्मका सामान्य विजिनेशम्यान मंगलबार एकाएक भारतका टप २० अर्बपतिको सूचिमा पर्न सफल भए । कसरी होला ?

भारतीय मिडियाहरुका अनुसार रिटेल चेन संचालन गर्ने उनको कम्पनी एवेन्यूू सुपरमार्टसको रुपमा सेयर बजारमा सूचिकृत भयो । विगत १३ वर्षको अवधिमा सेयर सूचिकृतको दिन यति धेरै सेयरको मूल्यमा उछाल कहिल्यै आएको थिएन, तर भाग्यमानी दमानीको कम्पनीको सेयरमा एकैदिन यति उछाल आयो कि, उनी हेर्दा हेर्दै निमेषभरमै अर्बपति बन्न सफल भए । एकदिनकै सेयर मूल्यको तीव्र वृद्धिले दमानी भारतका चर्चित अर्बपतिहरु अनिल अग्रवाल, अनिल अम्बानी, गोदरेज परिवार तथा राहुल बजाज भन्दा धनी बनेका छन् । एवेन्यूको पहिलो दिनको प्रदर्शनलाई आधार मानेर हेर्दा दमानी देशकै १७ औं धनी विजिनेशमेन बन्न सफल भएका छन् । 

डिमार्ट कम्पनीको सेयर जारी मूल्य प्रति कित्ता २ सय ९९ भारु थियो, तर सूचिकृत हुँदा यसको मूल्यमा उछाल आई एकैचोटि प्रति कित्ता ६ सय ४ रुपैयाँ ४० पैसा(भारु) कायम भयो । यो हिसाबले हेर्दा हेर्दै दमानीको कम्पनीको सम्पत्ति १ सय २ प्रतिशतले वृद्धि भयो । विगत १३ वर्षको इतिहासमै सूचिकरणको दिन कुनै पनि कम्पनीको सेयर मूल्यमा यति ठूलो उछाल आएको थिएन । कम्पनीको सेयर कारोबारको दौरान १ सय १७ प्रतिशतसम्म वृद्धि भई प्रति कित्ता ६५० भारुको उचाईमा पुुगेको थियो । त्यसबेला यो कम्पनीको सेयरको मार्केट क्याप ४० हजार करोड भारु रहेको थियो । 

कम्पनीको सेयर मूल्यको हिसाब गर्दा दामिनीसँग अब ५.२ अर्ब डलर सम्पत्ति भएको छ । यो हिसाबले उनी भारतकै १७ औं धनी व्यापारी बन्न सफल भएका हुुन् । 

डीमार्टको मार्केट क्याप बन्द हुँदा ३९ हजार ९ सय ८८ करोड भारु रहेको थियो, जुन भारतमा मार्केट क्यापको हिसाबले ६५ औं ठूलो कम्पनी बनेको छ । यसको मार्केट क्याप ब्रिटानिया इण्डष्टिज, म्यारिको तथा बैंक अफ बडौदा भन्दा बढी हो । 

दमानी सधैं चर्चा भन्दा बाहिर रहने गरेका छन् । उनी सेयर बजारमा मिस्टर वाइट एण्ड वाइट नामले चिनिन्छ । यसको अर्थ यो हो कि, उनी सधैं सेतो कपडा मात्र लगाउन मन पराउँछन् । दमानीले सन् १९९९ मा रिटेल विजिनेशको सुरुवात गरेका थिए । 

भारतका एक चर्चित बैंकर हेमेन्द्र कोठारीले इकोनोमिक टाइम्ससँग भनेका छन्-''राधाकिशन दमानी लो प्रोफाइलमा बस्न रुचाउने स्मार्ट, मौका चिन्न सक्ने शानदार लगानीकर्ता हुुन् । उनी कुनै कम्पनीमा लगानी गर्नुअघि सो कम्पनीको आन्द्राभूँडीसम्म अध्ययन गर्छन् । उनी खास भिजनका साथ आफूलाई सुहाउँदो सेयरको खोजीमा माहिर छन् ।'' 

बिग बुलको नामले चिनिइने भारतका ठूला सेयर लगानीकर्ता राकेश झुनझुनवाला दमानीलाई आफ्नो गुरु ठान्छन् । दमानी आफ्ना बुुबाको निधनसँगै आफ्ना दाईसँग ३२ वर्षको उमेरदेखि सेयर बजारमा जोडिएका थिए ।