काठमाण्डौ । नयाँ वर्षदेखि बजारमा देखिएको उछाल साताको कारोबारको दोश्रो दिन सोमबार समेत यथावत रह्यो । सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक दोहोरो अंकले बढी ऐतिहासिक उचाईमा पुगेको छ । 

सोमबार नेप्से १९.१७ अंकले बढी १४२८.६० अंकको नयाँ उचाईमा पुगेको हो । सोमबार बजार खुल्दा नेप्से परिसूचक १४०९.४४ अंकमा सीमित थियो । त्यसपछि लगातार बढेको नेप्सेले फेरि नयाँ उचाईको इतिहास बनाएको हो । 

सोमबार नेप्से परिसूचक मात्र नभई कारोबार रकम समेत वृद्धि भएको छ । सोमबार बजारमा १ सय ३३ कम्पनीका १९ लाख कित्ता शेयर ३ हजार ८ सय ६८ वटा कारोबारबाट बिक्री हुँदा बजारमा ९० करोड ६७ लाख पूँजी परिचालन भएको छ । यो दिन सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स समेत क्रमशः ४.४९ र १.५३ अंकले वृद्धि भए । 

सोमबार अन्य समूह बाहेक सबै समूहको सूचक उकालो लाग्यो । सोमबार पनि आइतबार झै बिमा समूहको सूचकले बाजी मार्यो । यो समूहको सूचक १२३.४ अंकले उकालो लाग्यो । यस्तै, बैकिंग, होटेल र विकास बैंक समूहको सूचकले समेत नेप्सेलाई बुलिस टेण्डमा कुदाउन महत्वपूर्ण योगदान गरे । यी तीन समूहको सूचक क्रमशः २१.८५, ३०.७७ र २०.९४ अंकले उक्लिए । हाइडोपावर समूह १४.४७ र फाइनान्स समूह १०.८७ अंकले वृद्धि भए ।