काठमाण्डौ । एफपीओमा मरिहत्ते गर्नुभन्दा दोश्रो बजारमा लगानी गर्नु नै उत्तम देखेका लगानीकर्ताहरु सलबलाउँदा साताको पहिलो कारोबार दिन बजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन बुर्कुसी मारेको बजारमा बिमा कम्पनीहरु मालामाल भए । बिमा कम्पनीहरुको चमकधमकअगाडि अन्य कम्पनीको प्रगति छायाँमा पर्यो ।  

नेप्से परिसूचक २४.८५ अंकले वृद्धि भई १३८२.१९ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकमले पनि छलाङ मारेको छ । कारोबार रकम गत बिहीबारको तुलनामा १३ करोडले बढी भयो । यसरी बजारमा कारोबार रकम र परिसूचक एकसाथ उकालो लाग्नुुले भविष्यमा बजारको लागि राम्रा दिन आउनसक्ने संकेत गर्छ । 

खरीदको उच्च चाप देखिएसँगै बजारमा हरियाली छाएको छ । नेप्सेका सबै समूहको परिसूचक हराभरा भएका छन् । 

सबैभन्दा बढी बिमा समूहको सूचकमा उछाल देखिएको छ । यो समूहको परिसूचक ३६७.४९ अंकले बढ्यो भने जलविद्युत समूह ५५.५९ र होटल समूह ६०.०५ अंकले वृद्धि भए । यस्तै, वाणिज्य बैंक, विकास बैंक र बित्त समूह क्रमशः १२.९, १७.१८ र ६.७६ अंकले बढेका छन् । उत्पादनमूलक २.५६ अंकले बढ्यो भने अन्य समूहमा ९.२५ अंकको बढोत्तरी देखियो । 

‘क’ वर्गका कम्पनीको कारोबार चम्किँदा सेन्सेटिभ इण्डेक्स ५.५५ अंकले बढ्यो भने समग्र कारोबारमा पनि सुधार आएका कारण फ्लोट इण्डेक्समा पनि १.७९ अंकले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ३६ कम्पनीका कुल १४ लाख ४८ हजार २ सय ४ कित्ता सेयर ६८ करोड ७७ लाख ९४ हजार १ सय २ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी एनसीसी बैंकले कारोबार गर्यो । यो कम्पनीले ६ करोड १२ लाख बढीको कारोबार गर्यो । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ४ करोड ३५ लाख, एनबी बैंकले ३ करोड ९१ लाख, नेपाल बैंकले २ करोड ९० लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ७७ लाखको कारोबार गरे । यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ६९ लाख संस्थापक सेयर किनबेच भयो भने लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड ४६ लाख, लक्ष्मी बैंकले २ करोड ३४ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक र बाँकी ४ स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार १ सय ३६ कम्पनीमध्ये २० कम्पनीले गुमाए भने बाँकी १ सय १६ कम्पनीले कमाए । बजारमा बिमा समूहको चमकधमक देखियो । सबै बिमा कम्पनीले आइतबार सम्पत्ति मूल्य बढाए । तीन बिमा कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो भने ४ बिमा कम्पनीले ७ प्रतिशत बढीले सम्पत्ति बढाएका छन् । 

प्राइम लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र प्रभूू इन्स्योरेन्सले पैसा छापेका हुुन् । यी तीनवटै कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो । सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, हिमालयन जनरल इन्स्योरेन्सको मूल्यमा ७ प्रतिशत भन्दा बढीको वृद्धि भयो । 

आइतबार सबैभन्दा धेरै राप्तिभेरी विकास बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ४.३८ प्रतिशतले घट्यो ।