काठमाण्डौ । सेयर बजारमा लगानीको ठ्याक्कै यही नियम भन्ने हुन्न । केही नियम यस्ता हुन्छन्, जसलाई फलो गर्न सकिए सेयरमा गरिएको लगानीबाट राम्रो रिटर्नको संभावना रहन्छ । हामीले यहाँ लङ टर्मको दृष्टिकोणबाट बजारमा कसरी लगानी गर्ने र कुन कुन कुरामा ध्यान दिए सफल बन्न सकिन्छ भन्ने बिषयमा १० टिप्स तयार गरेका छौ । सबै बुँदासँग सम्बन्धित आधारभूत कुराहरु लगानीकर्ताले जान्नैपर्ने हुन्छ । 

१. कमजोर सेयर बेचौं, राम्रोलाई राखौं
धेरै लगानीकर्ताहरुले राम्रो कम्पनीको सेयर केही नाफा हुने बित्तिकै बिक्री गर्ने हतारो देखाउँछन् । यो गलत प्रवृति हो । राम्रो अवस्थाको कम्पनीको सेयर लामो समयसम्म होल्ड गर्न सके त्यसबाट ठूलै रिटर्न पनि प्राप्त हुन्छ । यसतर्फ विशेष ध्यान दिनुपर्छ । बरु आफूसँग भएको कमजोर कम्पनीको सेयर बिक्री गरेर त्यसको लगानी पनि लङ टर्मका लागि राम्रो कम्पनीमा गर्नुहोस् । किनकि कमजोर कम्पनीको सेयरको मूल्य भविष्यमा झनै घट्न सक्छ । 

त्यसो त स्तरीय सेयरलाई होल्ड गरेर कमजोर कम्पनीको सेयर बिक्री गर्ने सिद्धान्त कार्यान्वयन गर्न अप्ठ्यारो पनि हुनसक्ला । राम्रो कम्पनीको थोरै सेयर किनेर लामो समयसम्म होल्ड हुन सकेमा मात्र सेयर बजारको असली विजेता बन्न सकिन्छ । त्यसकारण थोरै संख्यामा मात्र सेयर छ, मैले त के कमाउन सकूँला र ? भन्ने भ्रम पनि त्याग्नुपर्छ । राम्रो प्रदर्शन गरिरहेको सेयरलाई पनि नजरअन्दाज गर्नुहुन्न । 

अर्कोतर्फ, कुनै पनि कम्पनीको सेयरमा पहिरो गएपछि त्यो फेरि बढ्ला भन्ने कुनै ग्यारेण्टी हुन्न । त्यसकारण राम्रा सेयरलाई कहिले बेवास्ता नगर्नुहोस् । आफ्नो विचारमा जुन सेयरले खराब प्रदर्शन गरिरहेको छ, त्यसलाई बेलैमा बिक्री गर्नु नै उचित हुन्छ । तर, कुनै सेयरबाट गुमाएँ भन्दैमा चिन्ता नगर्नुहोस्, कारण यसले तपाईंको अनुुभव र सेयर सम्बन्धी ज्ञानलाई बढाइरहेको हुन्छ । गुमाउँदाको अवस्थाबाट सिकेर अगाडि बढ्नु पनि एउटा महत्वपूर्ण टिप्स हो । 

यी दुवै अवस्थामा कुनै पनि सेयरको मूल्य वृद्धि हुने भविष्यका संभाव्यताको बिषयमा अध्ययन गरेर मात्र निर्णय लिनु उचित हुन्छ । चाहिने भन्दा बढी डराउनु वा अत्तालिनु पनि सेयरमा लगानीमा घातक प्रवृति हो । 

२.सस्ता टिप्स पछ्याउने गल्ती नगर्नु
आफ्ना दाजुुभाई, साथीभाई, छिमेकी, सेयर बजारका दलाल वा विज्ञ नामधारी कतिपय व्यक्तिहरुको टिप्सलाई कानूनकै रुपमा पालना गर्ने भूल पनि गर्नुहुन्न । तपाई कुनै सेयरमा किन लगानी गर्नुहुँदैछ भन्ने उत्तर तपाईसँगै हुन आवश्यक हुन्छ । त्यसकारण आफैले नै लगानी गर्न चाहेको कम्पनीको बिषयमा सक्दो रिसर्च गर्नुहोस् र जहाँ संभावना बढी देख्नुहुुन्छ, त्यहाँ लगानी गर्नुहोस् । सस्ता टिप्स, बजारका हल्ला वा कसैको सल्लाहको पछि लागे डूबिन्छ । यस्तो अवस्थामा तपाईंको अध्ययन र आत्मविश्वास ठूलो कुरा हो । कसैको सल्लाह अनुसार कुनै सेयरमा लगानी गर्नु जूवा खेल्नु बराबर हो । हो, कतिपय टिप्सले तपाईंलाई कहिलेकाही फाइदा पनि गर्ला, तर लङ टर्म लगानीकर्ताका लागि यस्ता टिप्सको भर पर्नुभन्दा बजारलाई आफैंले बुुझेको राम्रो हुन्छ । त्यसकारण बजारलाई सुन्नुहोस्, बजारका पण्डितहरुलाई बढी सुन्नुुभयो भने डूूब्नुहुन्छ ।

३.सानो रकममा नअल्झिनुहोस्
हिजोआज धेरै लगानीकर्ता छोटो समयका लागि सेयरमा लगानी गरेर धेरै कमाइन्छ भन्ने भ्रम पालेर बसेका छन् । लामो समयको लगानीमा सफलता पाउन सानो–सानो रकममा बढी ध्यान दिनुहुँदैन । मिनेट मिनेटको बजार गतिविधि हेरेर त्यसबाट आफूले घाटा वा नाफा व्यहोरेको  बिषयलाई ठूलो रुपमा लिनुहुन्न । लामो समयका लागि लगानी गर्नु भनेको केही वर्षका लागि लगानी हो । त्यसकारण बजारका मिनेट मिनेटका यस्ता गतिविधिमा अल्झिनुभन्दा यो समयमा बजारको बिषयमा आफूभित्रको ज्ञानलाई बृहत बनाउनतिर लाग्नुपर्छ । सानो रकम घाटा लाग्यो भन्दै चिन्ता गर्न थाल्नुुभयो भने तपाईं डूूब्नुहुन्छ । स्तरीय सेयरमा लगानी गर्दा आत्मविश्वास बढाउनुहोस्, स्तरहीन सेयरमा लगानी गरी केही रकम डूूब्यो भन्दैमा निराश बन्न छाडिदिनुहोस् । स्तरीय सेयर लिनुभएको छ र आजको दिनमा केही रुपैयाँ घाटा भयो भने पनि त्यसले दीर्घकालमा तपाईलाई राम्रो रिटर्न दिनेछ । 

४.मूल्य–आम्दानी अनुपातलाई बढी महत्व नदिनूू
प्राय लगानीकर्ताहरु लगानीअघि कुुनै पनि कम्पनीको मूल्य–आम्दानी अनुपात(पीई रेसियो)लाई मात्र बढी महत्व दिइरहेका हुन्छन् । पीई रेसियोलाई मात्र महत्व दिएर लगानीको निर्णय लिनु निकै जोखिमपूर्ण हुन्छ । लगानीका धेरै मुख्य टुलहरुमध्ये पीई रेसियो पनि एउटा पक्कै हो, तर सबै यही मात्र होइन । कम्पनीको अवस्था विश्लेषणका अन्य विधिका लागि पीई रेसियो एक सहयोगी विधि त बन्न सक्ला, लगानीको एक मात्र सूत्र मान्ने गल्ती गर्नुहुन्न । यसको अर्थ थोरै अंकको पीई रेसियो भएको कम्पनीको सेयर सुरक्षित नै छ भन्ने ग्यारेण्टी हुन्न भने, धेरै अंकको पीई रेसियो हुनु भनेको पनि त्यो कम्पनी पूरै कमजोर छ भन्ने पनि हुन्न ।

५.सानो रकमको सेयरलाई हेला नगर्नू
उदाहरणका लागि यदि तपाईंसँग १ सय रुपैयाँ प्रतिकित्ता पर्ने कुनै कम्पनीको सेयर छ र त्यसको मूल्यमा ५० प्रतिशत गिरावट आयो भने तपाईले प्रति कित्तामा ५० रुपैयाँ घाटा व्यहोर्नुपर्छ । तर यदि तपाईसँग ३ हजार प्रतिकित्ताको सेयर छ र यसमा ५० प्रतिशत घाटा लाग्यो भने एकैपटक एक कित्तामा १५ सय रुपैयाँ गुमाउनुपर्छ । त्यसकारण, थोरै रकमको सस्तो सेयर भनेर हेला नगर्नु । आफ्नो पोर्टफोलियोमा यस्ता सस्तो सेयर पनि राख्नुपर्छ । यसले तपाईलाई एकैपटक डूूब्नबाट जोगाउँछ । हुन त सस्तो सेयर महंगो सेयर भन्दा बढी जोखिमपूर्ण हुन्छ, तर लगानी विविधिकरणमा यस्ता सेयर पनि राख्नुपर्ने हुन्छ । 

६.आफ्नै मौलिक सिद्धान्त बनाउनुहोस्
सेयरको छनौट र लगानीको निर्णय शैली मानिसका फरक फरक हुन्छन्  । सफल बन्ने धेरै शैलीहरु छन् र एउटै शैली मात्र यसका लागि काफी वा ध्रुवसत्य भन्ने हुँदैन । त्यसकारण सेयर लगानीको क्रममा आफ्नो शैली पत्ता लगाउनुहोस् र त्यसमा आफूूलाई प्रतिबद्ध राख्ने प्रयास गर्नुहोस् । देखासिकी भन्दा पनि यथार्थपरक भएर यस्तो बेलामा सेयरको छनौट र लगानीको निर्णय लिनु श्रेयस्कर हुन्छ । 

७.भविष्यमा केन्द्रीत बन्नुुहोस्
लगानीको सबैभन्दा जटिल पाटो भनेकै कुनै पनि कम्पनीको सेयर वा समग्र सेयर बजारमा विगतमा के भयो भन्ने रिपोर्ट तथा विगतको आधारमा लगानीको निर्णय लिनु हो । त्यसकारण दिमागमा लगानीकर्ताले विगतका डेटाहरुलाई विश्लेषण गर्नु जति महत्वपूर्ण रुपमा लिनुपर्छ, भविष्यमा के हुन्छ भन्ने बिषयमा विश्लेषण गर्नु वा विचार गर्नु पनि उत्तिकै महत्वपूर्ण हुनुपर्छ । 

हिजोको दिनमा घटेकोले कुनै कम्पनीको सेयर नकिन्ने निर्णय लिनुु भन्दा पनि त्यसले भविष्यमा कस्तो प्रदर्शन गर्नसक्छ भन्ने  सही विश्लेषण गरेर लगानीको निर्णय लिइए त्यसबाट चाहि लङ टर्ममा फाइदा पुुग्नेछ । 

८.लङ टर्मको दृष्टिकोण एडप्ट गर्नुहोस्
छोटो समयमै हुने ठूलो फाइदाले बजारमा आएका नयाँ लगानीकर्तालाई प्राय आकर्षित गरिरहेको हुन्छ । तर लामो समयसम्मका लागि दृष्टिकोण बनाउनु, लामो समयको लगानी योजना बनाउनुु र बजारमा प्रवेश गर्ने, लगत्तै निस्किने तथा घाटा व्यहोर्ने प्रवृति निरुत्साहित हुनुपर्छ । तर यसको अर्थ छोटो समयका लागि लगानी गर्ने र बजारमा सक्रिय कारोबारीले कमाउँदैनन् भन्ने चाहि होइन । तर लगानी गर्नु र सक्रिय रुपमा सेयरको कारोबार गरी नाफा कमाउनु भिन्न कुरा हुन् । सेयरको व्यापारमा धेरै जोखिम हुन्छ, यो जोखिम किन्ने र होल्ड गर्ने लगानीकर्ताले व्यहोरेको हुँदैन। यस्तै, सक्रिय कारोबारी सफल बन्न निश्चित क्षमता हुनुपर्छ, जुन क्षमता लगानीकर्तामा नभए पनि हुन्छ ।

९.ब्राण्डेड कम्पनी मात्र नहेर्नु
धेरै ठूला कम्पनीहरुको पारिवारिक नाम र प्रतिष्ठा हुन्छ । तर विश्वका कैयन् राम्रा लगानीकर्ता यस्ता पृष्ठभूमिबाट उठेका हुँदैनन् । हजारौं साना कम्पनीहरुसँग भोलि ठूलो कम्पनी बन्ने संभावना जिवितै हुन्छ । वास्तवमा, इतिहासदेखि नै ठूला भन्दा साना कम्पनीहरुले राम्रो रिटर्न दिइरहेका छन् । जस्तो, साना सेयरले अमेरिकामा औसतमा १२.२७ प्रतिशत रिटर्न दिन सफल भए भने स्तरीय सेयरको रिटर्न भने १०.५३ प्रतिशतमा मात्र सीमित थियो । यो तथ्यांक सन् १९२६ देखि २००१ सम्मको त्यहाँको सेयर कारोबारबाट निकालिएको हो ।

तर यसो भनेर हामीले तपाईंले सबै लगानी साना मूल्यका सेयरमै गर्नुहोस् भन्ने सुुझाव दिन खोजेका होइनौ । 

१०.करको बिषयमा सचेत बन्नूू, चिन्ता नलिनु
लगानी र त्यसबाट हुने फाइदा भन्दा अगाडि करको बिषयमा सोच्नु आत्माघाती हुन्छ । यस्तो रणनीतिले लगानीकर्तालाई गरीब बनाइदिनसक्छ । करको कार्यान्वयन गर्नु महत्वपूर्ण हुन्छ नै, तर यो बिषय दोश्रो प्राथमिकताको बिषय हो । लगानीको प्राथमिक लक्ष्य तपाईंको लगानीलाई बढाउनु र पैसा कमाउनु हो । त्यसकारण, कर तिर्ने जिम्मेवारीसँगै तपाईले करपछि हुने आफ्नो आम्दानीलाई कसरी बढाउने भन्ने बिषयलाई केन्द्र भागमा राख्नुपर्छ ।