वीरगन्ज । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ ।

स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो । म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम, जीवनजल र हातमा लगाउने ग्लोब राखेर प्राथमिक उपचार बक्स विद्यालयमा पठाइएको थियो ।

जनस्वास्थ्यले खरिद गरेर विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा रहेका औषधिमध्ये पारासिटामोल ट्याब्लेटको सन् २०१६ अगस्ट र पेरिनोर्म मलमको म्याद नोभेम्बर २०१६ मै सकिएको छ । ब्यान्डेज, ग्लोब र साबुनको म्याद पनि ६ महिनाअघि सकिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

जनस्वास्थ्यले साउन २३ मा शिक्षा कार्यालय पर्सामा सामुदायिक विद्यालयमा वितरण गर्न औषधिसहितको प्राथमिक उपचार बक्स पठाएको थियो । तर शिक्षा कार्यालयले असोज पहिलो सातामा ६ वटा स्रोत केन्द्रमातहतका सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्स वितरण गरेको थियो ।