काठमाण्डौ । स्थानीय तह निर्वाचनमा स्वदेशी संस्थाहरूले मात्र निर्वाचन अनुगमन तथा पर्यवेक्षण गर्न पाउने भएका छन् । अनुगमन पर्यवेक्षणका लागि आवेदन दिने र चासो देखाउने स्वदेशी तथा विदेशी संस्थाहरू बढ्दै गएपछि आयोगले पर्यवेक्षण निर्देशिकाअनुसार अनुगमन र पर्यवेक्षणको दायरासहित स्वदेशी संस्थालाई मात्र अनुमति दिएको छ । अनुमति पाएका संस्थामध्ये निर्वाचनमा ३ सय पूर्वलडाकुले पर्यवेक्षण अनुमति पाएका छन् । पूर्वलडाकु नेपाल नामक संस्थाले उनीहरूलाई परिचालन गर्ने अधिकार पाएको आयोगको भनाइ छ, ।

१९ वर्षपछि ३१ वैशाख र जेठमा गरी दुई चरणमा तय भएको स्थानीय तह निर्वाचनमा ४९ स्वदेशी संस्थाहरूलाई मात्रै निर्वाचन अनुगमन तथा पर्यवेक्षणका लागि अनुमति दिइएको आयोगले जनाएको छ । आयोगमा ६५ संस्थाले पर्यवेक्षणका लागि आवेदन दिएका थिए ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तह निर्वाचन भएकाले अन्तर्राष्ट्रिय जगत्लाई अनुगमन तथा पर्यवेक्षणका लागि स्वीकृति दिने नीति नबनाएको बताए । उनले राष्ट्रिय निर्वाचनमा मात्र अन्तर्राष्ट्रिय समुदायलाई अनुगमनका लागि स्वीकृति दिइने गरेको बताए । ‘स्थानीय तहको निर्वाचन भएकाले हामीले स्वदेशी संस्थाहरूलाई मात्रै अनुगमन तथा पर्यवेक्षणका लागि अनुमति दिने तयारी गरेका हौं,’ उनले भने, ‘विदेशी नियोग तथा संस्थाहरूलाई स्थानीय तहमा अनुगमन र पर्यवेक्षणको अनुमति दिने नीति नै छैन ।’ यो खबर आजको राजधानीले छापिएको छ ।