काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले निकट भविष्यमै आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि ३२ करोड मूल्य बराबरको सेयर निश्कासन गर्ने भएको छ । 

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र त्यसपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्न लागिएको हो । 

यो कम्पनीले आगामी माघ १७ गतेदेखि १० करोड ६५ लाख मूल्य बराबरको १० लाख ६५ हजार ४ सय १७ कित्ता आइपीओ निश्कासन गरिने शुक्रबार एक सूचना प्रकाशन गर्दै स्पष्ट पारेको छ । 

आयोजना रहेको लमजुङ जिल्लाका बासिन्दाका लागि मात्र आइपीओ निश्कासन गर्न लागिएको हो । कुल निश्कासन हुनेमध्ये ५ लाख ३२ हजार ७ सय ८ कित्ता आयोजनाबाट धेरै प्रभावित लमजुंगका छिटी, बन्सार, नौथर, धोदानी, अर्चलबोट र सिमभञ्ज्यांग गाविसबासीका लागि छुट्याइएको छ । बाँकी ५ लाख ३२ हजार ७ सय ९ कित्ता चाहि समग्र लमजुंग जिल्लाबासीले भर्न पाउनेछन् । 

कम्पनीले जारी गरेको एक सूचनाका अनुसार माघ १७ गतेदेखि खुल्ने आइपीओमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसबेलासम्म माग गरिए अनुसार निवेदन नपरे अधिकतम मिति फागुन १७ लाई तोकिएको छ । 

इच्छुक जिल्लाबासीले न्यूनतम ५० देखि अधिकतम ५ सय  कित्तासम्मका लागि आवेदन दिन सकिने जनाइएको छ । 

ग्लोबल आइएमई लिमीटेड आइपीओ निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धक रहेको छ । 

यो कम्पनीको अधिकृत पुँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ । यो कम्पनीको चुक्तापूँजी चाहि ७४ करोड ५७ लाख रुपैयाँ रहेको छ । स्थानीयका लागि आइपीओ निश्कासनपछि चुक्तापूँजी ८५ करोड २३ लाखको उचाईमा पुुग्नेछ । स्थानीयका लागि आइपीओ जारी भएपछि यो कम्पनीले सर्वसाधारणका लागि २१ लाख ३० हजार ८ सय ३४ कित्ताको कुल २१ करोड ३० लाख बराबरको आइपीओ समेत जारी गर्नेछ । 

सर्वसाधारणलाई समेत साधारण सेयर बिक्रीपछि यो कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड पुुग्नेछ।

आइपीओ जारी भएपछि कम्पनीको संस्थापक-आयोजना प्रभावित क्षेत्रका बासिन्दा- सर्वसाधारणको सेयर स्वामित्व संरचना ७०–१०–२० मा रुपान्तरण हुनेछ । 

देशको सक्रिय क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ''ग्रेड फोर प्लस''को रेटिंग प्रदान गरेको छ । यो कम्पनीले २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।