काठमाण्डौ । बजारमा मूल्य समेत घटिरहेको र यस्तो अवस्थामा स्वीकृत मूल्यमा एफपीओ निश्कासन हुँदा लगानीकर्ता फस्नसक्ने र तरलता अभावको समस्या थप जटिल बन्नसक्ने विश्लेषण गर्दै नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ हतारोमा निश्कासन नगर्न मौखिक निर्देशन दिएको छ । 

स्ट्याण्डर्ड चार्टर्डले आवेदन दिएको १८ दिनमै स्वीकृत गरिएको एफपीओ हतारोमा निश्कासन गर्दा नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको बाँडफाँडपछि बैकिङ च्यानलमा फर्किएको अरबौ रकम पुनः फ्रिज हुने र यसले तरलताको समस्या जटिल बनाई सेयर बजार थप चौपट हुने भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो । 

‘हामीले मौखिक रुपमा लगानीकर्ताको समेत आग्रहलाई हेरेर एफपीओ हतार गरेर निश्कासन नगर्न सामान्य खालको आग्रह गरेका हौ ।’ नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले बिजशालासँग भने–‘ब्ल्याक एण्ड ह्वाइट निर्देशन होइन, आह्वानपत्र प्रकाशित गर्नुअघि एकपटक बोर्डसँग सल्लाह लिन पनि भनेका छौ ।’ 

उनका अनुसार एफपीओ निश्कासनको स्वीकृति पाएको मितिले २ महिनाभित्र निश्कासन गरिसक्नुपर्छ । तर यो समयमा हतार गर्न भन्दा पनि केही ढिला गरेर आह्वानपत्र प्रकाशित गर्न बोर्डको तर्फबाट स्ट्याण्डर्ड चार्टर्डलाई भनिएको बताइएको छ । 

यसअघि स्ट्याण्डर्ड चार्टर्डको एफपीओ तत्काल निश्कासन हुँदा यसले तरलता अभावको समस्या थप जटिल हुने र बजार झनै चौपट हुने भन्दै केही लगानीकर्ताले सहजीकरणका लागि बोर्डलाई आग्रह गरेका थिए । 

बिजशालाले समेत एक रिपोर्ट प्रकाशित गर्दै हतारमा स्ट्याण्डर्ड चार्टर्डले एफपीओ निश्कासन गरेर तरलतामा थप जटिलता ल्याउन खोजेको र यसले बजार समेत चौपट हुने प्रष्ट पारेको थियो । यी सबै घटनाक्रमपछि बोर्डले बैंकलाई मौखिक निर्देशन दिएको हो । 

बैंक पनि पछि हट्यो
एक स्रोतका अनुसार बदलिदो परिस्थिति, घट्दो बजार र बैंकको समेत गिर्दो साखका कारण एफपीओमा कम आवेदन पर्ने देखेर स्ट्याण्डर्ड चार्टर्डले समेत केही समय कुर्ने रणनीति लिएको छ । यो बैंकले एफपीओको आवेदन दिंदाको समय भन्दा स्वीकृत पाएको समयको बजार मूल्य प्रति कित्तामा ३ सयको हाराहारीमा घटिसकेको छ । आह्वान पत्र प्रकाशन गर्ने समयसम्म बजार मूल्य अझ तल गयो भने एफपीओमा आवेदन नपर्ने निश्कर्ष निकाल्दै केही समय ढिलो गरी मात्र निश्कासनको रणनीति लिएको बैंकका एक अधिकारीले बताए ।