काठमाण्डौ । साताको पहिलो कारोबार दिन र दोश्रो दिनको पूर्वाद्र्धमा तीनवटा सर्किट ब्रेकरको सामना गरेको निरश पूँजी बजार मंगलबार हराभरा भएको छ । 

हराभरा बजारमा बैंक, बिमा र जलविद्युत कम्पनीले कारोबारमा छलाङ मारे पनि कमाउनेमा चाहि विकास बैंक र माइक्रो फाइनान्सका लगानीकर्ता अगाडि देखिए । 

निरन्तर घट्दो बजारमा मंगलबार ४३.५२ प्रतिशतको उछाल देखिएको हो । सोमबार पूर्वाद्र्धको कारोबार अवधिमा १४ सयको हाराहारीमा झरेको नेप्से परिसूचक मंगलबार १५५३.६८ अंकको उचाईमा पुुगेको छ । 

उत्पादनमूलक बाहेक सबै समूहको सूचक चम्किएका छन् । आइतबार र अघिल्लो साताको अधिकांश कारोबार दिन ठूला पहिरोको सामना गरेको बिमा समूहको सूचक मंगलबार ३४८.१२(करिब ५ प्रतिशत)ले वृद्धि भयो । जलविद्युत समूहमा पनि १०४.४२(५.५१) प्रतिशतको उछाल आयो । वाणिज्य बैंक समूह ४२.३६ अंकले बढ्यो भने विकास बैंक र बित्त समूहमा क्रमशः ४२.०१ र ८.५५ अंकको बढोत्तरी भयो । होटल समूह ३.९८ र अन्य समूहमा १.७४ अंकको वृद्धि देखियो। उत्पादनमूलक समूह चाहि २१.२८ अंकले घट्यो । 

कसको कति कारोबार ? 
मंगलबार १३१ कम्पनीको १३ लाख ८२ हजार ६सय ४ कित्ता सेयर १ अर्ब १६ करोड ६० लाख बढीमा किनबेच भयो । 

कुल कारोबारमा वाणिज्य बैंक समूहले सबैभन्दा बढी ६१ करोड ९४ लाख बराबरको कारोबार गर्यो । बिमा समूहले ३६ करोड ५९ लाख र विकास बैंक समूहले ११ करोड ३३ लाखको कारोबार गरे । 

कम्पनीगत हिसाबले केही दिनदेखिकै अग्रतालाई एभरेष्ट बैंकले कायम राख्यो । आकर्षक बोनस र हकप्रद घोषणा गरेका कारण यो बैंकले निरन्तर कारोबार रकममा बजारलाई लिड गरिरहेको छ । मंगलबार पनि यो बैंकले सबैभन्दा बढी १५ करोड ३५ लाख बराबरको कारोबार गर्यो । 

बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ६ करोड २६लाख, शिखर इन्स्योरेन्सले ४ करोड ७७ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड ३८ लाख, सिद्धार्थ बैंकले ४ करोड ३३ लाख बराबरको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले कब्जा गरे भने पाँच स्थान बिमा समूहको कब्जामा रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी 
मंगलबार १० कम्पनीले पैसा छापेका छन् । बुटवल पावर कम्पनी लिमीटेड, राष्टिय विमा संस्थानको प्रोमोटर सेयरको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, राष्टिय विमा संस्थानको साधारण सेयरको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ । कञ्चन डेभलपमेन्ट बैंक, निर्धन उत्थान बैंक, महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्था, ओमी माइक्रो फाइनान्स बित्तीय संस्था, मितेरी डेभलपमेन्ट बंैक, टुरिजम डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु समेत मालामाल भए । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा बढ्यो । 

उछालको बजारमा बोटलर्स नेपाल तराई लिमीटेडले सबैभन्दा धेरै ७.२१ प्रतिशतले सम्पत्ति गुमायो । गुड्वील फाइनान्सको सेयर मूल्य ५.५२ प्रतिशत र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूूल्य ५.३५ प्रतिशतले घट्यो ।