काठमाण्डौ । क्यापिट गेन ट्याक्स(पूँजीगत लाभकर)लाई नबुझेर हकप्रद र बोनस सेयरमा अग्रीम र छुट्टै कर असूल गर्न आन्तरिक राजश्व विभागले निर्देशन दिएको भन्दै गरिएको प्रचारका कारण साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गइरहेको छ । 

पहिलो एकघण्टासम्म दोहोरो अंकले घटेको बजार बीचमा केही सुधार हुन खोजे पनि पुनः घट्न थालेको छ । दिउँसो १ बजेसम्मको अपडेट अनुसार नेप्से परिसूचक २८ अंकले घटिसकेको छ । 

बजारमा तीव्र गिरावट आएको र बिक्रीको चाप ह्वात्तै बढेका कारण कारोबार रकम २८ करोड भन्दा माथि पुगेको छ । 

यो अवधिसम्म बिमा समूहमा सबैभन्दा ठूलो पहिरो गएको छ । यो समूहको सूचक करिब ३ प्रतिशतले घटिसकेको छ । यस्तै, बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूह २ प्रतिशत भन्दा बढीले घटिसकेका छन् । अन्य सूचकहरुतर्फको गिरावट समेत अत्यासलाग्दो देखिएको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा तीव्र बिक्री चाप देखिएको छ । यहीकारण ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६ प्रतिशतको हाराहारीमा घटिसकेको छ।

यो समाचार तयार पार्दासम्म राष्टिय बिमा कम्पनीको २ करोड ३२ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । धेरै कारोबार गर्ने कम्पनीको सूचिमा नेपाल बैंक २ करोड २२ लाखसहित अगाडि छ । 

मेगा बैंकले यो अवधिसम्म सबैभन्दा बढी १० प्रतिशतको हाराहारीमा गुमाइसकेको छ ।