काठमाण्डौ । साउदी अरबको स्वामित्व रहेको तेल कम्पनी ‘साउदी अराम’ले विश्व बजारमा आइपीओ जारी गर्न लागेको छ, यो आइपीओ हालसम्मको विश्वकै सबैभन्दा ठूलो आकारको हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

योसँगै अराम कम्पनीले सन् २०१४ मा चीनको अलीबाबा कम्पनीले ल्याएको २.५६ लाख करोडको आइपीओको रेकर्डलाई तोड्नेछ । 

कम्पनीको साइज
साउदी अरब सरकारको स्वामित्व रहेको तेल कम्पनी साउदी अरामको ५ प्रतिशत स्वामित्व बिक्रीका लागि आइपीओ जारी गर्न लागिएको हो । यो सेयरको कुल मूल्य १०.७२ लाख करोड आसपासमा हुने बताइएको छ । यो आकार हालसम्मको सबैभन्दा ठूलो आइपीओको रेकर्ड बनाएको अलीबाबाको भन्दा करिब चार गुणा ठूलो हुनेछ । सेयर बिक्री गरेपछि कम्पनीको मूल्य २ ट्रिलियन डलरको आसपास हुनेछ । यो मूल्य विश्वका ठूला कम्पनी मानिएका एप्पल, वर्कसायर, फेसबुकभन्दा कयौं गुणा ठूलो हो । 

स्टकको दौड
साउदी अराम कम्पनी साउदी अरबको डोमेस्टिक स्टक एक्सचेञ्ज टडावुलमा सूचिकृत हुनेछ । कम्पनीको ठूलो आकारका कारण यो कम्पनीले स्थानीय सेयर बजार बाहेक अर्को एक स्टक एक्सचेञ्जमा पनि सूचिकृत हुने बाटो खोजिरहेको छ । यही कारण ग्लोबल एक्सचेञ्जहरु समेत यो कम्पनीलाई सूचिकृत गराउने दौडमा लागेका छन् । हङकङ, सिंगापुर, न्यूूयोर्क, टोरेन्टो, लण्डन र टोक्योका स्टक एक्सचेञ्जहरु समेत साउदी अरामको आइपीओ सूचिकृत गराउने दौडमा छन् । 

किन निश्कासन हुँदैछ आइपीओ ?
पछिल्लो केही समयदेखि साउदी अरब आफ्नो अर्थव्यवस्थालाई तेलमा मात्र निर्भर कम गराउन चाहिरहेको छ । साउदी अरामको आइपीओको माध्यमबाट जुुट्ने रकम सरकारको पब्लिक इन्भेष्टमेन्ट फण्डमा जम्मा हुनेछ र यसको सहयोगले सरकारले आफ्नो अर्थव्यवस्थामा विविधिकरण गर्न चाहन्छ । 

तेलको मूल्यमा असर
साउदी अराम कम्पनीले आइपीओ निश्कासन गरेपछि तेलको मूल्यमा केही समयसम्म उछाल आउनसक्ने विश्लेषण गरिएको छ । तेलको अधिक मूल्यका कारण साउदी अरामको आइपीओको मूल्य अझ बढ्ने आशा गरिएको छ ।