काठमाण्डौ । हिमालयन बैंकको सेयर सस्तोमै खरीद गर्ने अवसर खुुलेको छ । यो बैंकले बिहीबारदेखि साधारण सेयरधनीले लिन अनिच्छा देखाएको हकप्रद सेयरलाई लिलामीमा राखेको हो । 

यो बैंकले कुल १ लाख ४५ हजार ५ सय ८० कित्ता सेयरधनीले नलगेको हकप्रदलाई लिलामीमा राखेको हो । 

यो बैंकले गत कात्तिक २६ गते ७ बराबर १ को अनुपातमा हकप्रद जारी गरेको थियो । तर निश्कासन सबै हकप्रदका लागि सेयरधनीले आवेदन दिएनन् । 

बिहीबारदेखि खुुलेको लिलामी प्रक्रियामा चैत १६ गतेभित्रमा आवेदन दिइसक्नुुपर्छ । चैत १७ गते लिलामीको नतिजा प्रकाशन गरिनेछ । 

लिलामीमा बिड गर्नेहरुले न्यूनतम १ सय रुपैयाँ मूल्य र अधिकतम आफ्नो इच्छा अनुसार मूल्य राखी सहभागी हुन सक्नेछन् । इच्छुक लिलामकर्ताले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुुपर्नेछ ।

हिमालयन बैंकको बिक्री नभएको हकप्रदको लिलामीको प्रक्रियाका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

बबरमहलस्थित लक्ष्मी क्यापिटल लिमीटेडको कार्यालयमा गएर इच्छुक लिलामकर्ताले आगामी चैत १६ गते दिउँसो ३ बजेसम्म लिलामीका लागि आवेदन दिनुपर्नेछ । लक्ष्मी बैंकको खाता नम्बर ००५३४०१०२३८ मा लिलामीमा सहभागी हुनेले बिडबापत बुुझाउनुपर्ने रकम जम्मा गर्न सक्ने बताइएको छ । 

हिमालयन बैंकको बुधबारको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता ९५७ रुपैयाँ रहेको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमै १ अर्ब २ करोड खूद नाफा आर्जन गरेको छ ।