काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्सले पुनः एकपटक श्रीलंकाको कोलम्बोका व्यावसायिक उडान भर्ने भएको छ । पहिलो व्यवसायिक उडानको भव्य सफलतापछि यात्रुहरुको माग बढेपछि अर्को उडान भर्न लागिएको कम्पनीले जनाएको छ । 

उक्त उडानका लागि एअरबस 320-214, बैशाख २१, २०७३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ८ः३० बजे (स्थानीय समय) कोलम्बाको लागि उड्ने छ र बैशाख २५ मा कोलम्बोबाट उडान भरी ४ बजे काठमाण्डौमा अवतरण हुनेछ । 

नेपाल र श्रीलंका बीच पर्यटन प्रवद्र्घन गर्ने उद्देश्य राखी एअरलाइन्सले यात्रुहरुका लागि पुरानै आकर्षक भाडादरको सहुलियत समेत उपलब्ध गराएको बताइएको छ । बिजनेस क्लास र इकोनोमी क्लासका लागि क्रमशः  ५५,००० र रु ३५,००० रुपैयाँ  दुई तर्फी भाडादर तोकिएको छ । यस प्रोमोसनल प्याकेज प्रवद्र्धन गर्न एअरलाइन्सले देशका मुख्य आउटवण्ड टूर अपरेटरहरुसँग सम्झौता समेत गरिसकेको छ । 

हिमालय एयरलाइन्सका भाइस प्रसिडेन्ट विजय श्रेष्ठले पहिलो कोलम्बो उडानबाट आफूहरुले यात्रुहरुबाट राम्रो प्रतिक्रिया पाएको र यसैलाई मध्यनजर गरी फेरि एकपट कोलम्बो उडान सुपथ मूल्यमा भर्न लागिएको प्रष्ट पारे । 

यस अघि एअरलाइन्सले नववर्ष २०७३ साललाई ध्यानमा राखी चैत ३० देखि वैशाख ४ सम्म कोलम्बोमा प्रमोसनल उडानको अफर गरेको थियो ।

सन् २०१४ अगष्टमा स्थापित हिमालय एअरलाइन्सले अप्रिल १२, २०१६ मा कोलम्बो, श्रीलंकाको लागि सीधा उडान भरेर अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याएको  थियोे । एअरलाइन्सले आफ्नो पहिलो गन्तव्य दिल्ली(इण्डिया) र दोहा(कतार) बनाएको छ । केही महिनापछि चीनको ल्हासा, चेंगदु र बेइजिङमा पनि उडान भर्ने तालिका बनाइएको छ ।

यसैबीच, कम्पनीका अधिकारीहरुका अनुसार हिमालय एयरलाइन्स्ले आफ्नो व्यवसायिक उडान सुरु गर्न सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यस शिलसिलामा एअरलाइन्सले आफ्ना विमान चालक, परिचारिका र प्राविधिक कर्मचारीहरुलाई तालिम दिने लगायत सम्पूर्ण तयारी पूरा गरिसकेको हो । 

हिमालय एअरलाइन्सले आगामी पाँचवर्ष भित्र पन्ध्रवटा A320 सिरिजका जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तव्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए । एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान भर्ने A330 सिरिजका जहाज ल्याएर जापान ,कोरिया, युरोप, अस्टे«लिया र अमेरिकाका लागि पनि उडान भर्ने योजना बनाइएको उनले जानकारी दिए । 

यस एअरलाइन्समा ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपालका व्यवसायीको छ ।