काठमाण्डौ । लगानीकर्ताहरुको आन्दोलन र त्यसपछि नियामक निकायहरुको सकारात्मक पहलपछि उत्साह फर्किएको बजारमा साताको दोश्रो कारोबार दिन सोमबार फेरि अशुुभ संकेत देखिएको छ । 

बजारमा नेप्से परिसूचक बढे पनि कारोबार रकम चाहि घटेपछि यसले आगामी दिनमा बजार फेरि घट्ने हो कि भन्ने आशंका पैदा गरिदिएको हो । बजारको उतारचढाव र विगत केही समयदेखिको टेण्डलाई बुुझेका विश्लेषकहरुले नेप्से परिसूचक बढ्दा कारोबार रकम घट्नुलाई आगामी दिनका लागि अशुुभ संकेत मान्ने गरेका छन् । 

‘परिसूचक बढेर कारोबार रकम घट्नुले बजारलाई टर्नओभरले साथ छाड्न थालेको पो हो कि भनेर बुुझ्न सकिन्छ ।’ स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले भने –‘नेप्से परिसूचक घट्दा समेत कारोबार रकम भने बढ्यो वा स्थिर रह्यो भने त्यो बजार बढ्नसक्ने संकेतको रुपमा बुझिन्छ । तर ठीक उल्टो, नेप्से बढे पनि कारोबार रकम चाहि घट्यो भने आगामी दिनमा बजारका लागि त्यो खतराको संकेत हुन सक्छ ।’ 

विगत केही दिनको कारोबार र नेप्से परिसूचकको उतारचढावलाई हेर्दा समेत यही प्रवृति हाबी भएको देखिन्छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घट्दा त्यसपछिको दिनमा बजारमा पहिरो गएको छ भने नेप्से घटे पनि कारोबार रकमले बजारलाई साथ नछाडेको अवस्थामा नेप्से त्यसपछिका दिनहरुमा बढेको छ । 

तर एकदिनको कारोबार रकमको यो गिरावटले नै सम्पूर्ण बजारको भविष्य निर्धारण गर्ने भन्ने चाहि नहुने पौड्यालको भनाई छ । 

साताको पहिलो कारोबार दिन आइतबार ५७ करोड ३३ लाखको सेयर किनबेच भएको थियो । यो दिन नेपाल टेलिकमको मात्र ९ करोड बढीको कारोबार भएको थियो । तर सोमबार कारोबार रकम घटेर साढे ५१ करोडमा झरेको हो । 

बजार हराभरा
सोमबार पनि बजार हराभरा भएको छ । नेप्से परिसूचक १७.१३ अंकले बढी १४८२.८५ को उचाईमा पुुगेको छ । होटल बाहेक सबै समूहको परिसूचकमा हरियो पोतिएको छ । 

सोमबार पनि वाणिज्य बैंक २३.३२ अंकले बढेको छ । बिमा २८.४५, विकास बैंक १३.५४, बित्त समूह ६.४४, जलविद्युत ७.७७, उत्पादनमूलक ५.३९ र अन्य समूह २.८९ अंकले बढेको छ । होटल समूहमा ६.३७ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार वाणिज्य बैंकहरुले मात्रै २६ करोड ८१ लाख बराबरको कारोबार गरे । बिमा कम्पनीहरुले १२ करोड ६० लाख र विकास बैंकहरुले ५ करोड बढीको कारोबार गरे । 

कम्पनीगत रुपमा सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकले गर्यो । यो बैंकले ३ करोड बढीको कारोबार गर्यो भने सिटिजन्स बैंक इन्टरनेशनलले २ करोड ७७ लाखको कारोबार गर्यो । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडको २ करोड ३६ लाख तथा सिद्धार्थ बैंकको २ करोड ११ लाख बराबरको सेयर किनबेच भयो । 
धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थानमा वाणिज्य बैंक र ३ स्थानमा बिमा कम्पनीले कब्जा जमाए । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार तीन कम्पनीले पैसा छाप्दा सेयरधनी मालामाल भए । सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेड र अरुण फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । मञ्जुश्री फाइनान्सको सेयर मूल्यमा पनि ९.२९ प्रतिशतको वृद्धि देखियो । 

सोमबार मिथिला लघुवित्त विकास बैंक लिमीटेडको सेयरधनीले ठूलै पहिरोको सामना गर्नुपर्यो । यो कम्पनीको सेयर मूल्य साढे ९ प्रतिशतको हाराहारीमा घट्यो । हाम्रो विकास बैंकका लगानीकर्ताले पनि ५.२५ प्रतिशतले सम्पत्ति गुमाए ।