काठमाण्डौ । करिब १२ वर्षपछि नेपालको मुद्रास्फीति (औसत मूल्यवृद्धि)को दर ३ प्रतिशतभन्दा तल झरेको छ । गत फागुनमा उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशतमा ओर्लिएको राष्ट्र बैंकले बताएको छ । यो आर्थिक वर्षको अन्त्यमा मुद्रास्फीति दर साढे ७ प्रतिशतमा राख्ने लक्ष्य राष्ट्र बैंकले गरेको थियो । तर, केन्द्रीय बैंकको लक्ष्यभन्दा निकै तल्लो तहमा मूल्यवृद्धिको दर कायम रहन सक्ने संकेत देखिएको छ । 

राष्ट्र बैंकका अनुसार दाल, गेडागुडी, घिउ, तेल, तरकारीलगायत अधिकांश खाद्यान्नको भाउ पोहोरभन्दा सस्तिएको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण बजारमा वस्तु अभाव भएको र ठूलो मात्रामा विदेशी सहायता परिचालन भएकाले मूल्यवृद्धिमा बढी चाप परेको थियो । हरेक घरमा राहत वितरण गर्नुपर्ने भएपछि राष्ट्र बैंकले अघिल्ला वर्षहरूको तुलनामा निकै बढी बैंक नोट बजारमा प्रवाह गर्नुपरेको थियो । तर, अहिले त्यस्तो नोटमा हुने कारोबार पोहोरको तुलनामा घटेको केन्द्रीय बैंकले बताएको छ ।

विकास बजेट पर्याप्त मात्रामा खर्च हुन सकेको छैन । कर्मचारीको बढेको तलब सेयर बजार र घरजग्गा कारोबारजस्ता सट्टेबजारमा प्रवाह हुँदा उपभोगमा ठूलो प्रभाव राख्न नसकेको विज्ञहरूले बताएका छन् । चुलिएको आयातले उपभोग खर्च बढेको आँकडा प्रस्तुत गरे पनि भुक्तानी प्रणालीलाई औपचारिक बैंकिङ प्रणालीको प्रयोग बढाउन सकिएकाले मूल्य वृद्धिमा त्यसले पनि ठूलो भूमिका खेल्न नसकेको हो । ‘हाम्रो बजार समष्टिगत मागका आधारमा तय हुने होइन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘तर, यो वर्ष पोहोरजस्तो अत्यधिक माग बढेको अवस्था रहेन ।’ उपभोगमा पनि टिकाउयुक्त वस्तुमा मानिसहरूको आकर्षण बढेकाले पनि खुद्रा उपभोगको मूल्य वृद्धिमा चाप कम परेको हो । गत वर्ष उच्च दरको मूल्य वृद्धि भएकाले त्यसको तुलनामा अहिले कम देखिनु स्वाभाविक भएको विश्लेषकहरू बताउँछन् ।यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।