काठमाण्डौ । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल ठगी आरोपमा पक्राउ परेका छन् । 

आफू कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

बालुवाटार ४ आफ्नै निवासबाट अनुसन्धानका लागि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी इश्वर कार्कीले जानकारी दिए । दशैँअघि कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको डिएसपी कार्कीले बताए ।

गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानबिन अगाडि बढाउँदा रकम हिनामिना भएको देखिएपछि दशैँअघि प्रहरीमा उजुरी गरेको थियो । कम्पनी घाटामा देखिएपछि दुई वर्ष अघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै विरोध जनाएका कम्पनीको आरोप छ । छानबिनलाई अगाडि बढाउँदा काल्पनिक ग्राहक बनाएर उनीहरुबाट रकम उठ्न बाँकी देखाउने र उठेको रकम व्यक्तिगत खर्च गर्ने गरेको देखिएको कम्पनी स्रोतले जानकारी दिएको छ ।

गीतकार दाहाल दुईपटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह निकालिसकेका छन् । गीतकार दाहालले आफ्ना कृतिहरुबाट विभिन्न म्यूजिक अवार्ड र सम्मानहरु समेत पाएका छन् ।