काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम २०७५ सालको असार महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिएका छन्। 

आयोजनास्थल लामाबगर पुगेका घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गर्दै एकीकृत तालिका बनाएर काम गरी २०७५ को असारभित्र पूरा गर्न निर्देशन दिएका हुन्। 

राष्ट्रिय गौरवको आयोजना भएकाले काम तीन चरणमा थाल्न र दुई सिफ्टको कामलाई तीन सिफ्टमा विस्तार गर्न आवश्यक वातावरण बनाउन प्राधिकरण र प्रवद्र्धक तयार रहेको उनको भनाइ छ । 

घिसिङले आयोजनामा आइपर्ने समस्या समधान गर्न सम्बन्धित निकायसगँ आफूले कुरा गर्ने बताउँदै ढुक्कसँग आयोजनाको काम गर्न सबै निकायलाई आग्रह गरे। उनले तामाकोसी आयोजनालाई नै लक्षित गरी लामाबगरमा बोर्ड बैठक राखे। चार सय ५६ मेगावाटको यो जलविद्युत् आयोजनाको पहिलो युनिट विसं २०७५ को असारसम्म सञ्चालनमा आउनेछ । 

पुसबाट यसले पूर्णक्षमतामै विद्युत् उत्पादन थाल्नेछ । दोलखाको लामाबगरमा निर्माण भइरहेको आयोजनाको काम ८८ प्रतिशत सम्पन्न भइसकेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समस्या पहिचान गरी निर्धारित समयमा सम्पन्न गर्न भन्दै सञ्चालक समिति आयोजनास्थलमा पुगेको छ । 

तामाकोसी जलविद्युत् कम्पनीका अध्यक्ष समेत रहेका घिसिङले लक्षित समय अगावै तामाकोसी सञ्चालनमा ल्याउन के, कसले गर्नुपर्ने भन्नेबारे परार्मशदता, ठेकेदार र आयोजनाका अधिकारीसँग सुझाव मागेका छन्। आयोजनास्थलमा नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधि समेत सहभागी थिए । आयोजनामा यी संस्थाले लगानी गरेका छन् । आयोजनास्थलमा पुगेका घिसिङलाई आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले सामान ढुवानीका लागि समस्या भएको बताए।