काठमाण्डौ । कुनै पनि देशको शेयरबजार सूचकलाई सो देशको अर्थतन्त्रको ऐना मानिन्छ । तर नेपालको सन्दर्भमा यो सिद्धान्त लागू हुँदैन । नेपालको शेयरबजार सूचकलाई हेरेर अर्थतन्त्रको ऐना भन्न थालियो भने मानिसले हामीलाई पागल भन्छन् । कारण, शेयर बजार सूचक अस्वभाविक ढंगले नयाँ नयाँ उचाई चुम्दै बुलिस भइरहेको बेला ठीक विपरीत देशको अर्थतन्त्र चाहि धराशायी बनिरहेको छ । शेयर बजार सूचक(नेप्से)ले ऐतिहासिक उचाई चुमिरहँदा देशको अर्थतन्त्रका सूचक चाहि ओरालो लागेका छन् । २०७२ सालमा शेयर बजारले यस्तै अस्वभाविक प्रदर्शन गर्यो । शेयरबजारमा अरबौंको शेयर खरीदबिक्री भयो भने नसोचिएको ढंगले बजार बुलिस भएर नेप्सेले नयाँ उचाई कायम गर्यो । शेयरबजारमै पहिलोपटक डिम्याट शेयरको कारोबार सुरु गरियो भने कागजी कारोबारमा सीमित सम्पूर्ण बजारलाई विद्युतीकरण समेत गरियो । 

शेयरबजारका लागि २०७२ निकै उतारचढावपूर्ण रह्यो । लामो समयदेखिको राजनीतिक अस्थिरता, विनाशकारी भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले शेयर बजार नराम्ररी प्रभावित भयो । तर चालु आर्थिक वर्षको मौद्रिक नीति शेयर बजारका लागि सुखद बनेर प्रकट भयो । कारण मौद्रिक नीतिमार्फत नेपाल राष्टबैंकले बैंक तथा बित्तीय स.स्थालाई पूँजी बढाउन निर्देशन दिएको छ । यसका कारण पूँजी बढाउन कयौं संस्थाहरुले हकप्रद शेयर, बोनश शेयर, एफपीओ, आइपीओको वर्षा नै गरे । यसले बजारलाई पछिल्लो समय बुलिस गरिरह्यो । 

२०७२ को सुरुवातमा नेप्से परिसूचक ९ सय ४८ दशमलव ३९ अंकमा सीमित थियो । विनाशकारी भूकम्पका कारण बैशाखदेखि जेठसम्म एकमहिना शेयर बजार नै बन्द भयो । तर त्यसपछि खुलेको बजार अर्थतन्त्रको दिशा भन्दा ठीक विपरीत बुलिस टेण्डमा कुदिरहेको छ । २०७२ को अन्तिम दिन चैत ३० गते नेप्से परिसूचकले १३८८.६३ अंकको नयाँ इतिहास बनाएको छ । यो अवधिमा बजार पुँजीकरण पनि झण्डै १५ खर्ब रुपैयाँ पुगेको छ ।

२०७२ सालमा पुँजी बजारको नियमनकारी निकाय धितोपत्र वोर्डमा डा. रेवतवहादुर कार्की नियुक्त भएसँगै सुधारका लागि केही कदमहरु चालिए । यता सिडिएस एन्ड क्लियरिङमा पनि नयाँ प्रमुख कार्यकारीका रुपमा देवप्रकास गुप्ता नियुक्त भएर आएपछि त्यहाँ पनि केही राम्रा काम भए, जसको सकारात्मक असर बजारमा पर्यो । 

यही वर्षमा यिनै दुई निकायको प्रयासमा सबै सूचिकृत कम्पनीहरुको डिम्याट सेयर मात्र कारोबार गर्ने कामले गति लियो । यससँगै वोनस सेयर र हकप्रद सेयर पनि डिम्याट खातामै जम्मा हुने व्यवस्था गरियो । 

नेपाल धितोपत्र वोर्डले सार्वजनिक निस्कासनका सेयरमा लगानी गर्ने रकम बैंक खातामै ब्लक हुने नयाँ व्यवस्थाको समेत यही वर्ष नै सुरुवात गरेको छ । यो व्यवस्था आगामी साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याइनेछ । यो व्यवस्था लागू भएपछि विभिन्न बैंकमा रहेको पैसा कुनै एउटा दुईटा संस्थामा ओइरो नलाग्ने र लगानीकर्ताले पनि नपरेको सेयरको बाँकी पैसा लिन सेयर रजिष्ट्रारकोमा लाइन बसिरहनुपर्ने झञ्झट अन्त हुने बताइएको छ । 

२०७२ सालमै धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई पुँजी बजारको निर्माताको रुपमा बजारमा प्रवेश गराउने सरकारी योजना कार्यान्वयन सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमै कोषलाई धितोपत्र बजार निर्माताको रुपमा बजारमा प्रवेश गराउने घोषणा गरेको थियो। 

बोर्डले प्रत्येक पब्लिक लिमिटेड कम्पनीलाई ओभर द काउन्टर(ओटिसी) बजारमा सुचिकृत हुनु पर्ने नौलो व्यवस्थाको समेत सुरुवात गरेको छ । नयाँ व्यवस्थापछि मारुती सिमेन्टको कारोबार ओटिसी बजारबाट भएको छ । 

२०७२ सालमा लगानीकर्ताको सहजताका लागि अर्को महत्वपूर्ण काम पनि भएको छ । त्यो हो लगानीकर्ताले नेपाल स्टक एक्सचेन्जको मार्केट डेप्थ हेर्न पाएको अवसर । यो अवसर सबैका लागि खुल्ला गरिएको छ । लगानीकर्ताले आफैँले शेयरबजारको गहिराईं यो व्यवस्थाबाट बुझ्न सहज हुने बताइएको छ । 

२०७२ सालमा विभिन्न समूहको शेयर मूल्यमा राम्रै उतारचढाव देखियो । साना पूँजी भएका बित्तीय संसथाहरुले ठूलो पूँजी भएका संस्थाका लगानीकर्ता भन्दा बढी आम्दानी गरे । शेयरबजार उकालो लागिरहँदा ठूला संस्था भन्दा अपत्यारिला साना संस्थाका लगानीकर्ता मालाहाल हुने परिस्थिति समेत देखियो । योसँगै यही वर्ष पहिलो पटक बैंकिङ सुचकलाई विकास बैंक सुचकले उछिन्यो । अहिले पनि विकास बैंक सूचक बाणिज्य बैंकभन्दा १०० अंकभन्दा बढीले माथि छ । २०७२ मा बिमा कम्पनीका लगानीकर्ता पनि मालामाल भए । बिमाको इतिहासमै पहिलोपटक बिमा समूहको सूचक ३१६ अंक भन्दा बढीले उक्लिएको छ । 

२०७२ सालकै अन्तिम दिनमा शेयर बजारमा एकैदिन १ अर्ब १४ करोडको शेयर किनबेच भयो । सो दिन नेप्से परिसूचक दोहोरो अंक अर्थात २० अंकले माथि उक्लिएको ििथयो । सो दिन इतिहासमै सबैभन्दा धेरै वाणिज्य बैंक समूहको ६६ करोडको शेयर खरीदबिक्री भएको थियो ।