काठमाण्डौ । सिनर्जी पावर डेभलमेन्ट लिमीटेडले खुलाएको २१ करोडको आइपीओमा तेश्रो दिनसम्ममा माग भन्दा १६ गुणा बढी आवेदन परेको छ । 

यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल २१ लाख कित्ता सेयरको प्राथमिक निश्कासन गरेको हो । सेयरमा आवेदनका लागि आज(बुधबार) अन्तिम दिन थियो । 

बिक्री प्रबन्धकको काम गरिरहेको सानिमा क्यापिटलका एक अधिकारीका अनुसार तेश्रो दिन मात्र ४९ हजार निवेदनबाट १ अर्ब ८७ करोड बढीको प्रस्ताव आएको छ । तेश्रो दिनसम्म कुल ८६ हजार ५ सय ५० ले ३ अर्ब ४० करोड बराबरको आवेदन दिइसकेका छन् । यो अनुमानित औसत तथ्यांक भएको र अन्तिम दिन बुधबार आवेदन दिनेको देशभरका संकलन केन्द्रमा लामो लाइन रहेका कारण आवेदकहरुको संख्या निकै माथि पुुग्नसक्ने संभावना रहेको ती अधिकारीले बताए । 

इच्छुुक सेयरधनीले न्यूनतम ५० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो ।  

कुल आइपीओमध्ये कम्पनीले ६३ हजार कित्ता(३ प्रतिशत) आफ्ना कर्मचारीका लागि, १ लाख ५ हजार कित्ता(५ प्रतिशत) १० म्युुचुुअल फण्डहरुका लागि र बाँकी १९ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुुग्नेछ । हाल यो कम्पनीमा संस्थापक सेयरधनीको ४२ करोड र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ७ करोड लगानी रहेको छ । सिनर्जी पावरको अधिकृत पूँजी ७० करोड रुपैयाँको छ । 

आइपीओ निश्कासन र व्यवस्थापनपछि कम्पनीमा संस्थापक–आयोजना प्रभावित क्षेत्रका बासिन्दा–सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ६०–१०–३० प्रतिशत कायम हुनेछ । 

यो कम्पनीले दोलखामा १० मेगावाट क्षमताको स्प्रिङ खोला हाइडो प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यसअघि यो कम्पनीले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको आइपीओ जारी गरेको थियो । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था खासै सन्तोषजनक नरहेको भन्ने हुन्छ ।