काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले खुलाएको २१ करोड मूल्यको प्राथमिक निश्कासन(आइपीओ)मा करिब ७ अर्ब रुपैयाँको प्रस्ताव परेको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको २१ लाख कित्ता सेयर आइपीओ गरिएकोमा देशभरका संकलन केन्द्रबाट ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार देशभरबाट आइपीओका लागि कुल १ लाख २८ हजार ५ सय ८० आवेदन परेका छन् । यो प्रस्ताव मागको तुलनामा ३६ गुणा भन्दा बढी हो । 

सिनर्जीले सर्वसाधारणका लागि पुुस ८ गतेदेखि आइपीओ खुलाएको थियो । बुधबार आइपीओमा आवेदन दिने अन्तिम दिन थियो । 

इच्छुुक सेयरधनीले न्यूनतम ५० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो ।  

कुल आइपीओमध्ये कम्पनीले ६३ हजार कित्ता(३ प्रतिशत) आफ्ना कर्मचारीका लागि, १ लाख ५ हजार कित्ता(५ प्रतिशत) १० म्युुचुुअल फण्डहरुका लागि र बाँकी १९ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुुग्नेछ । हाल यो कम्पनीमा संस्थापक सेयरधनीको ४२ करोड र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ७ करोड लगानी रहेको छ । सिनर्जी पावरको अधिकृत पूँजी ७० करोड रुपैयाँको छ । 

आइपीओ निश्कासन र व्यवस्थापनपछि कम्पनीमा संस्थापक–आयोजना प्रभावित क्षेत्रका बासिन्दा–सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ६०–१०–३० प्रतिशत कायम हुनेछ । 

यो कम्पनीले दोलखामा १० मेगावाट क्षमताको स्प्रिङ खोला हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यसअघि यो कम्पनीले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको आइपीओ जारी गरेको थियो । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘आइपीओ ग्रेड ४’ को रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था खासै सन्तोषजनक नरहेको भन्ने हुन्छ ।