काठमाण्डौ । नेपालकै पुरानो बैंक नेपाल बैंक लिमीटेडले राष्ट्र बैंकको ८ अर्ब चुक्तापूँजी पुर्याउने योजना कार्यान्वयन गर्ने पहिलो बैंकको रुपमा आफूलाई उभ्याउने योजनाका साथ २३.७४ प्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ । 
 

गत चैत ६ गते बसेको बैंक संचालक समितिको बैठकले आफ्नो शेयर सदस्यहरुलाई २३.७४ प्रतिशत हकप्रद वितरणको प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले जानकारी दिए । 
 

यो प्रस्ताव राष्ट्रबैंक, अर्थमन्त्रालय र साधारणसभाबाट पारित भए नेपाल बैंक लिमीटेडको चुक्तापूँजी ७ अर्ब ९७ करोड पुग्नेछ । नेपाल राष्ट्रबैंकले देशका ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई ०७४ असार मसान्तसम्ममा चुक्तापँुजी ८ अर्ब पुर्याउनुपर्ने समयावधि तोेकेको छ । यो समयअवधि भन्दा निकै अगाडि नेपाल बैंक लिमीटेडले पूँजीवृद्धि योजनामा तोकिएको लक्ष्य प्राप्त गर्ने प्रयास थालेको हो । 
 

नेपाल बैंक लिमीटेडसँगै ८ अर्ब चुक्तापूँजी पुर्याउने दौडमा नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक पनि रहेका छन् । 
 

संचालक समितिले गरेको यो निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयमा पठाउनुपर्नेछ । त्यसपछि आउँदो वार्षिक साधारणसभाले समेत यो प्रस्ताव पारित गरे नेपाल बैंक लिमीटेडको शेयरधनीले सो हकप्रद शेयर प्राप्त गर्नेछन् । 
 

यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमालको प्रगति हासिल गर्दै १ अर्ब ४ करोड खूद मुनाफा आर्जन गरेको छ । हाल यसको चुक्तापँुजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।