काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १० रुपैयाँ दरको २४ करोड थान नोट छपाईको जिम्मा एक फ्रान्सेली कम्पनीलाई दिएको छ । 

माघ १७ गते मुद्रा व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै १० रुपैयाँ दरका २४ करोड थान नोट छपाईको टेण्डर फ्रान्सेली कम्पनी इदभचतजगच Oberthur Fiduciaire S.A.Sले प्राप्त गरेको हो । 

पेरिसमा रहेको यो कम्पनीसँग नोट छपाईसम्बन्धी सम्झौता जनवरी २६, २०१७ मा भएको केन्द्रीय बैंकले जनाएको छ । 

मुद्रा व्यवस्थापन विभागका का.मु. कार्यकारी निर्देशक भीष्मप्रसाद उप्रेतीका अनुसार नोट छपाईका लागि ३० लाख ६४ हजार ८ सय यूरोमा सम्झौता भएको हो । यो रकम नेपाली रुपैयाँ ३५ करोड ६७ लाख भन्दा बढी हो । 

सन् २०१६ को नोभेम्बर १८ मा केन्द्रीय बैंकले नोट डिजाइन, छपाई तथा आपूर्ति गर्ने सूचना प्रकाशित गरेकोमा प्राप्त बोलपत्रहरुको मूल्यांकन गरी फ्रान्सेली कम्पनीलाई दिइएको बताइएको छ ।