काठमाण्डौ । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दै छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार  पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्दै छन् । 

नेपालमा तेस्रोपटक हुँदै : सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा कार्यरत मुलुकका सेनाबीच तालिम र सहकार्यमा सामन्जस्य कायम गर्न हरेक वर्ष यस्तो अभ्यास आयोजना हुँदै आएको छ । सेनाको तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोगजंगबहादुर राणाका अनुसार नेपालमा हुन लागेको यो तेस्रोपटक हो । अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार गरिसकेको महासेनानी राणाले जानकारी दिए । पहिलोपटक सन् २००० जनवरीमा र दोस्रोपटक सन् २०१३ मार्च १९ देखि ७ अप्रिलसम्म नेपालमा बहुपक्षीय शान्ति अभ्यास आयोजना भएको थियो । उक्त अभ्यासमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डर हर्रे भी ह्यारिस तथा राष्ट्रसंघको पिस किपिङ अपरेसन विभाग प्रमुख हर्भे ल्याडसस पनि सहभागी हुने कार्यक्रम छ । अमेरिकी कमान्डर ह्यारिस आइतबार काठमाडौं आइपुगेका छन् । ‘यो तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि ल्याउनु रहेको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी आए, श्रीलंकाली फर्किए : ‘शान्ति प्रयास ३ अभ्यास’ का लागि अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका कमान्डर एड्माइरल हर्रे बी ह्यारिस आइतबार काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापाले स्वागत गरे । ६ दिनअघि आएका श्रीलंकाली सेनाप्रमुख डी सिल्वा आइतबार स्वदेश फर्किएका छन् । उनलाई सेनाको युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले बिदाइ गरे ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि अभ्यासमा : राष्ट्रसंघमातहत शान्ति स्थापक फौज पठाउने देशहरूमध्ये नेपाल छैटौँ स्थानमा छ । विश्वसनीयता र व्यावसायिकताका आधारमा नेपालको आग्रहमा यस्तो बहुपक्षीय अभ्यास हुन लागेको हो । हाल युएनमातहतका १५ वटा शान्तिस्थापक मिसनमा नेपाली सेनाका चार हजार ६ सय ६० जना खटिएका छन् । राणाका अनुसार स्टाफ ट्रेनिङ, फिल्ड ट्रेनिङ, रिजनल सेमिनार र क्रिटिकल इन्याबलर, क्यापासिटी इन्याब्लर गरी चारवटा विषयमा अभ्यास केन्द्रित हुनेछ । काठमाडौंबाट ४५ किलोमिटरको दूरीमा रहेको पाँचखालमा सेमिनारबाहेक सबै अभ्यास सञ्चालन हुनेछन् । यसपटक उक्त अभ्यासमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई–दुईजना सहभागी हुन लागेको महासेनानी राणाले बताए । उनीहरू पहिलोपटक सहभागी हुन लागेका हुन् । स्टाफ ट्रेनिङमा २६ देशका सेना सहभागी हुनेछन् भने फिल्ड ट्रेनिङका लागि २८ देशका सेना सहभागी हुनेछन् । महिला सैनिकको बेग्लै टिम यसमा सहभागी हुनेछ ।

कुन–कुन देश सहभागी हुँदै छन् ? : नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान, रुवान्डा, श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे«लिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायत । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।