काठमाण्डौ । कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै अन्तराष्ट्रिय बजारको तुलनामा नेपालमा पेट्रोल र डिजलको मूल्य नघटाइएको भन्दै नेपाल आयल निगमको सधैं आलोचना हुने गर्छ । अहिलेको मूल्यमा समेत आयल निगमले धेरै नाफा भएको निगमकै जिम्मेवार अधिकारीहरुले बताउँदै आएका छन् । नेपालमा हाल पेट्रोल प्रति लिटर ९९ रुपियाँ पर्छ भने डिजेल चाहि ७५ रुपियाँमै पाउन थालिएको छ । तर विश्वका केही देशहरु यस्ता छन्, जहाँ पेट्रोल नेपालभन्दा निकै महंगो पर्छ । तर केही देश यस्ता छन्, जहाँ नसोचेको मूल्यमा पेट्रोल खरीद गर्न पाइन्छ ।  नेपालमा मात्र होइन, दुनियाँ देश र त्यहाँको सरकारले अवलम्बन गर्ने आर्थिक नीतिका कारण पेट्रोल तथा डिजेलको मूल्य भिन्न भिन्न छ । कुनै देशमा सरकारले इन्धनमा जनतालाई भारी अनुदान दिएका कारण पेटोल सीयोको भाउमा पाइन्छ भने कतिपय देशमा पेट्रोल भाउ निकै महंगो पनि छ ।    

भारतको नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर नेपाली ९० रुपियाँ पर्छ । तर पाकिस्तानमा भने पेट्रोलको मूल्य भारतको भन्दा निकै कम पर्छ । पाकिस्तानको बजारमा पेट्रोल ७९ रु. १५ पैसा(नेपाली रुपियाँ) मात्र पर्छ ।    

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार विश्वमै सबैभन्दा सस्तो पेट्रोल पाइने देख भेनेजूएला हो । यहाँ प्रति लिटर पेट्रोलको मूल्य नेपाली २ रुपियाँ १७ पैसा मात्र पर्छ । भेनेजुएला कच्चा तेल निर्यात गर्ने राष्ट्र हो, तर उसले आफ्ना नागरिकहरुलाई पेट्रोल खरीदमा भारी सहुलियत दिएको छ । जसका कारण, यहाँ पानी भन्दा पेट्रोल सस्तो छ ।    

साउदी अरबमा पेट्रोलको मूल्य प्रति लिटर २४ रुपियाँ ९४ पैसा पर्छ । यसैगरी, इरानमा प्रतिलिटर पेट्रोल ३४ रुपियाँ ६८ पैसा, अमेरिकामा ६३ रु. ४ पैसा पर्छ । यो मूल्य एक डलर खरीद गर्दा नेपाली १०८ रु. ४१ पैसा खर्च गर्नुपर्दाको अवस्थाको हो ।    

श्रीलंकामा पेट्रोल प्रतिलिटर ९६ रु.४९ पैसा, चीनमा प्रतिलिटर ९७ रु. ५८ पैसा, बंगलादेशमा १२९ रु. २ पैसा, ब्रिटेनमा १५७ रु. २१ पैसा, हङकङमा १९५ रु. १५ पैसा पर्छ ।