काठमाण्डौ । पहेँलो धातु सुनको भाउले २०७० चैतमा कायम भएको उच्च बिन्दूलाई समेत पार गर्दै बुधबार नयाँ किर्तिमान बनाएको छ । 
 

तोलामा ३ सय रुपैयाँले बढेर बुधबार सुनको भाउ ५६ हजार रुपैयाँ पुगेको छ । मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ ५५ हजार ७ सय पुगेको थियो । २०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसदेखि हालसम्म सुनको भाउ ५५ हजार ८ सय नाघेको थिएन । २ वर्षअघि कायम भएको उच्च विन्दू समेत पार गरी सुनको भाउले नयाँ किर्तिमान बनाएसँगै सुन सञ्चित गर्नेहरु मालामाल भएका छन् । 
 

अघिल्लो साता केही घटबढ भएको सुनको भाउ यो साताको आइतबार र सोमबार प्रति तोला ५५ हजारमा अडिएको थियो । त्यसपछि चाहि सुनको भाउ बढ्न थालेको हो । दुई साताअघि पनि एक्कासी बढ्न थालेको सुनको भाउ अघिल्लो साताको केही दिन केही घटेर फेरि उकालो लाग्ने क्रम सुरु भएको थियो । साताको पहिलो २ दिन स्थिर रहेको सुन मंगलबारदेखि बढ्न थालेको र यो क्रम केही दिनसम्म रहनसक्ने विश्लेषण गरिएको छ । 
 

२०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसदेखि हालसम्म सुनको भाउ ५५ हजार ८ सय नाघेको थिएन ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेको, अमेरिकी डलरसँग नेपाली रुपैयाँको सटही दर समेत उच्च भएको तथा विवाहको लगन समेत रहेका कारण स्थानीय बजारमा सुनको मूल्य उकालो लागेको विश्लेषकहरुले बताएका छन् । 
भाउ लगातार उकालो लागेपछि २ महिनाको अवधिमा सुन प्रति तोलामा ९ हजार रुपैयाँ महंगो भइसकेको छ । पछिल्लो तीन सातामा मात्र सुन प्रति तोला ५ हजार रुपैयाँ बढेको छ । 

 

कात्तिकको पहिलो साता सुनको भाउ प्रति तोला ४७ हजार रुपियाँसम्म ओर्लिएको थियो । त्यसपछि उकालो लाग्न थालेको भाउ माघ लागेपछि ६ हजार रुपैयाँ महंगो भइसकेको छ ।   
 

विश्व अर्थतन्त्रमा देखिएको मन्दीको समस्या र घट्दो तेलको मूल्यमा  अपेक्षित सुधार नभएका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने संभावना छ । 
 

सुनको भाउ बढे पनि चाँदीको भाउ चाहि मंगलबार झै बुधबार समेत स्थिर रह्यो । मंगलबार चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।