काठमाण्डौ । संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाको काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिकामा सात आना जग्गामा घर रहेको छ । 

उनले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा बुझाएका सम्पत्ति विवरणमा श्रीमती मेनुका राईको नाममा रहेको उक्त घर उनले स्वआर्जनमा बनाएको बताएका छन् । सहायकमन्त्री लामाको काभ्रेपलाञ्चोकको दाप्चा काशीखण्ड नगरपालिकामा पैतृक सम्पत्तिका रुपमा सगोलमा रहेको १३ रोपनी जग्गा र घर आमा डोलकुमारी लामाको नाममा रहेको छ । उनीसँग स्वआर्जन तथा दाइजो गरी ३० तोला सुन र २०० तोला चाँदी रहेको छ । 

त्यसैगरी राष्ट्रिय वाणिज्य बैक काठमाडौँको गौशाला शाखामा रहेको खातामा स्वाआर्जनको रु दुई लाख तथा एभरेष्ट बैँक मैतिदेवीमा तलवभत्ताबापत प्राप्त गरेको रु पाँच लाख रकम रहेको छ । कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था अत्तरखेलबाट उनले ऋण लिएको उल्लेख गरे पनि कति लिएको भन्ने सम्पत्ति विवरणमा खुलाइएको छैन । उनीसँग टोयोटा जिप, होण्डा मोटरसाइकल, डियो स्कुटी रहेकोमा सबै स्वआर्जनबाट खरिद गरेको उल्लेख गरिएको छ । सहायकमन्त्री लामाको ‘क’ वर्गको धुकुधु कन्स्ट्रक्सन कम्पनी प्रालि सञ्चालनमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।