काठमाण्डौ । राजधानीको अस्तव्यस्त शहरी यातायातलाई व्यवस्थित र चुस्त बनाउने योजनाका साथ साझा यातायातले काठमाण्डौ महानगरपालिकासँगको सहकार्यमा थप ३० वटा अत्याधुनिक लामा बस खरीद गर्ने सम्झौता गरेको छ । 
 

साझा यातायातले अशोक लेल्याण्डका गाडी ल्याउने गरी बिहीबार सम्झौता गरेको हो । 
 

साझाको तर्फबाट अध्यक्ष कनकमणि दिक्षित र अशोक लेल्याण्ड कम्पनीको तर्फबाट गौरव कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरे । 
 

साझाले आफूहरुलाई आवश्यक अत्याधुनिक लामा बसका लागि ०७२ मंसिर १३ गते ग्लोबल टेण्डर आह्वान गरेको थियो । ०७२ पुस ३० गते टेण्डर खोलिएको थियो भने चैत ११ गते(बुधबार) टेण्डर पारेको अशोक लेल्याण्डसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
 

यो पटकको ३० वटा बस काठमाण्डौ महानगरपालिकाको १० करोड शेयर लगानीमा खरीद गर्न लागिएको हो । सम्झौता भएको मितिले ४ महिनाभित्रमा आवश्यक मापदण्डका बसहरु अशोक लेल्याण्डले उपलब्ध गराउने र साउनभित्रमा साझाको थप नयाँ ३० वटा अत्याधुनिक लामा बस काठमाण्डौको सडकमा कुद्न सुरु हुने बताइएको छ । 
 

हाल साझा यातायातका लामा १६ वटा बस काठमाण्डौभित्र संचालनमा छन् । साझा यातायातले अत्याधुनिक लामा बस उपत्यकामा बिस्तार गरेसँगै सरकारले समेत लामा बसहरु ल्याउने व्यवसायिक कम्पनीहरुलाई भन्सार सहुलियत दिने घोषणा गरेको थियो । काठमाण्डौ उपत्यकाको भद्रगोल सार्वजनिक यातायातमा सुधारका लागि नयाँ युगको सुरुवातकर्ताको रुपमा जस पाएको साझाका नयाँ ३० बस आएपछि काठमाण्डौको शहरी यातायात थप व्यवस्थित हुने आशा गरिएको छ । 
 

साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार साउनभित्रमा आउने बस ४० भन्दा बढी सिट क्षमताका हुनेछन् । उभिएर समेत २५ जना भन्दा बढीले यात्रा गर्न सक्नेछन् । यसरी १ सयभन्दा बढी यात्रुहरुलाई एउटै बसले सेवा दिन सक्नेछ । 
 

अब आउने बसका समेत दुईवटा ढोका हुनेछन् र पछाडिको ढोकाबाट ह्वील चेयर समेत छिराउन मिल्ने विशेष व्यवस्था गरिएको र अब आउने बस पूर्ण रुपमा अपांगमैत्री हुने समेत पाण्डेले जानकारी दिए । बसमा २÷२ सिटको व्यवस्था हुने भएकोले ओहोरदोहोरमा कुनै कठिनाई नहुने र बसभित्र यात्रुले आरामसाथ ओहोरदोहोर गर्नसक्ने पाण्डेले बताए । 
 

४ महिनापछि भित्रिने नयाँ बसहरुमा पनि अहिलेको बसमा झै सुरक्षाका लागि सीसी टिभी, यात्रुहरुको मनोरञ्जनका लागि डिस्प्ले टिभी, वाइफाइ लगायतका सुविधाहरुको व्यवस्था यथावत रहनेछन् ।