काठमाण्डौ । साना र ठूला गरी बजारमा नयाँ खालका जागिर खुलेका छन् । विभिन्न निजी संघसंस्था, कम्पनी, एनजीओ, आइएनजीओले नयाँ जागिर खुलाएका हुन् ।    

ब्रिटिस काउन्सिल नेपालले दुई पदमा आकर्षक तलब तथा सेवासुविधा दिने गरी जागिरको अवसर खुलाएएको छ ।  मार्केटिङ एण्ड कम्यूनिकेसन एण्ड लर्निङ सेन्टर मेनेजर र ह्यूमान रिसोर्स कोअर्डिनेटरमा जागिरको अवसर खुलाइएको हो । काउन्सिलका अनुसार दुवै पदमा जागिर खान चाहनेको शैक्षिक योग्यता स्नातक उत्तीर्ण हुनुपर्नेछ । मार्केटिङ एण्ड कम्यूनिकेसन अफिसरको पदमा जागिर खान चाहनेले मार्केटिङ वा कम्यूनिकेसन मूल बिषय लिएर स्नातक गरेको र कम्तीमा ३ देखि बढीमा ५ बर्षको अनुभव हासिल भएको हुनुपर्नेछ ।    

ह्यूमान रिसोर्स कोअर्डिनेटरका लागि सम्बन्धित बिषयमा स्नातक गरेको हुनुपर्ने र २ बर्षको अनुभव समेत हुनुपर्ने काउन्सिलको सूचनामा उल्लेख छ । इच्छुकले फेब्रुअरी २२ सम्ममा ब्रिटिस काउन्सिलको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन् ।    

यसैगरी, ‘हिमालयन ट्रस्ट नेपाल’ गैरसरकारी संस्थाले सोलुखुम्बुमा गएर काम गर्ने गरी ५ जना फिल्ड सुपरभाइजर माग गरेको छ । शिक्षा, स्वास्थ्य, संस्कृति, वातावरण तथा बसोबासको क्षेत्रमा कार्यरत यो संस्थाले भूकम्पबाट क्षतिग्रस्त सोलुखुम्बुको विद्यालय भवनहरुको पुनरसंरचनाको काममा सुरपरभाइजर खोजेको हो । सुपरभाइजरका लागि सिभिल इञ्जिनियरिङ बिषयमा ओभरसियरको पढाई पूरा गरी निर्माण उद्योगमा ३ बर्ष काम गरेका अनुभवीलाई प्राथमिकता दिइने बताइएको छ । इच्छुकले २१ फेब्रुअरीभित्रमा  संस्थाको काठमाण्डौस्थित कार्यालयको ०१५५३९७४६ तथा ५५३९७८८ मा सम्पर्क गरी दरखास्त दिनसक्ने सूचनामा उल्लेख छ ।  

 यसैबीच, सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले प्रमुख कार्यकारी अधिकृत(सीइओ)) पदका लागि दरखास्त आह्वान गरेको छ । नेपालमा राम्रो प्रगति गरिरहेको बिमा कम्पनी सिद्धार्थले सीइओका लागि आवेदन दिन चाहनेसँग व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख गरेको छ । यसैगरी, कर्पोरेट हाउसहरुमा कम्तीमा १० बर्षसम्म व्यवस्थापकको रुपमा काम गरेको तथा बिमा क्षेत्रमा चाहि २ बर्षसम्म काम गरेको अनुभव भएको व्यक्तिले यो पदमा दरखास्त दिनसक्ने बताइएको छ । यो पदमा दरखास्त दिन चाहनेले सोमबारको मितिले ३५ दिनभित्रमा कम्पनीको इमेल ठेगाना वा काठमाण्डौको बबरमहलस्थित कार्यालयमा गएर दिनसक्ने बताइएको छ ।  

यूएनडिपीले कम्युनिकेसन एनलिस्ट पदका लागि जागिरको अवसर खुलाएको छ । एकबर्षे अवधिको यो जागिरमा निकै आकर्षक तलब र अन्य सेवासुविधा राखिएका छन् । यो पदमा दरखास्त दिन चाहनेसँग पत्रकारिता, सूचना प्रविधि तथा सम्बन्धित बिषयमा स्नातकोत्तर गरेको सर्टिफिकेट हुन आवश्यक हुन्छ । यूएनडिपीले यो पदमा दरखास्त दिन चाहनेलाई आफ्नो वेबसाइटको भ्रमण गर्न समेत सुझाएको छ ।  

यसैगरी, स्वीस सरकारको आर्थिक सहयोगमा चलिरहेको ‘हेल्भेटास नेपाल’ले ३ जना सिभिल ओभरसियर र एकजना सिभिल इञ्जिनियरमा इन्टर्न माग गरेको छ । सिभिल ओभरसियरले गोरखा, सिन्धुपाल्चोक र रामेछापस्थित संस्थाको क्लस्टर अफिसमा काम गर्नुपर्नेछ । २०१६ डिसेम्बरसम्मका लागि यो पदमा जनशक्ति माग गरिएको र त्यसपछि पनि पदावधि थप्ने संभावना रहेको भन्दै हेल्भेटास नेपालले सिभिल इञ्जिनियरिङमा स्नातक गरी सम्बन्धित क्षेत्रमा ३ बर्षको अनुभव हासिल गरेकाबाट यो पदमा दरखास्त आह्वान गरेको हो । सिभिल इञ्जिनियरिङतर्फ एकजना इन्टर्न चाहि काठमाण्डौ कार्यालयका लागि आवश्यक रहेको, तर यो पदमा आउनेले आफ्नो कार्यअवधिको ३० प्रतिशत समय फिल्ड भिजिटमै बिताउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । यो पदमा सिभिल इञ्जिनियरिङमा स्नातक गरेका नयाँ अनुहारलाई प्राथमिकता दिइने उल्लेख छ ।    

यसैबीच, गरीबी, प्राकृतिक प्रकोप तथा द्वन्द्वबाट प्रताडित सर्वसाधारणहरुलाई सहयोग गर्ने हेतुले स्थापित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत काम गर्दै आएको ‘अक्सफाम’ नामको आइएनजीओले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । ‘फेयर ट्रेड प्रोजेक्ट’को प्रोजेक्ट कोअर्डिनेटर पदमा दरखास्त आह्वान गरिएको छ । यो पदमा काम गर्नेले सन् २०१८ सेप्टेम्बरसम्म त्यहाँ जागिरको अवसर प्राप्त गर्नेछ । यो पदमा व्यवस्थापन, व्यापार वा विकासमा स्नातकोत्तर गरेको, ३ बर्षसम्म आर्थिक विकास, निजी क्षेत्रको विकास लगायतका क्षेत्रमा काम गरेको अनुभव हासिल गरेको, राम्रो अंग्रेजी बोल्न र लेख्न सक्ने, राम्रो ढंगले डकुमेन्टेन्सन गर्नसक्नेले आवेदन दिन सक्नेछन् । यसैगरी, अक्सफामले सोही प्रोजेक्टका लागि प्रोग्राम अफिसर पदमा समेत जागिरको अवसर खुलाएको छ । यो पदका लागि व्यवस्थापन तथा व्यापार मूल बिषयमा स्नातक गरेका र सम्बन्धित क्षेत्रमा १ बर्ष अनुभव प्राप्त गरेकाले आवेदन दिनसक्ने बताइएको छ ।    

सन् २०१७ मार्चसम्मका लागि अक्सफामले सिन्धुपाल्चोक कार्यक्षेत्र रहने गरी पब्लिक हेल्थ इञ्जिनियर(अफिसर) पदमा समेत आवेदन आह्वान गरेको छ । सरसफाई, पानी, हाइजिन प्रमोसन लगायतको क्षेत्रमा काम गरेकालाई यो पदमा प्राथमिकता दिइने अक्सफामले जनाएको छ । माथिका तीनवटा पदमा दरखास्त दिन चाहनेले १८ फेब्रअरीसम्म आफ्नो बायोडाटा, कभर लेटर पेश गरिसक्नुपर्नेछ । जी.पी.ओ. बक्स नं. २५०० आवेदन पठाउन सकिने बताइएको छ ।    जर्मन डेभलपमेन्ट कर्पोरेसन अन्तरगतको ‘जीआइजेड’ नामको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नूवाकोटका लागि एकजना अफिस असिस्टेन्ट र एकजना जुनियर अफिसरका लागि आवेदन आह्वान गरेको छ । अफिस असिस्टेन्ट पदमा अंग्रेजी र नेपालीमा लेख्न र पढ्न जान्ने, सामान्य कम्प्युटरको ज्ञान भएको तथा २ बर्षको अनुभवीले आवेदन दिन सक्ने संस्थाद्वारा जारी आवश्यकता सम्बन्धी सूचनामा उल्लेख छ । यस्तै, व्यवस्थापन वा व्यापार बिषय लिई स्नातक गरेका तथा सम्बन्धित क्षेत्रमा ३ बर्ष कामको अनुभव हासिल गरेकाहरुले निवेदन दिन मिल्ने गरी प्रशासन तथा बित्त शाखाका लागि यो संस्थाले जुनियर अफिसर पदमा जागिर खुलाएको छ । दुवै पदमा आवेदन दिन इच्छुकले फेब्रुअरी २० भित्रमा आवेदन दिइसक्नुपर्ने उल्लेख छ । संस्थाको इमेल ठेगानामा पठाइएको दरखास्तलाई मात्र स्वीकार गरिने बताइएको छ । दरखास्तका लागि यो संस्थाले s2hsp@giz.org.np इमेल तयार गरेको छ । इच्छुकले यही इमेलमा आफ्नो निवेदन, बायोडाटा, दुईजना सिफारिसकर्ताको सिफारिस, पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।    

यता, काठमाण्डौको सुकेधारामा अवस्थित निर्माण संसार प्रालिले २ जना सिभिल इञ्जिनियर, ५ जना ओभरसियर, ५ जना सवओभरसियर तथा ५ जना मार्केटिङ अफिसर पदमा रोजगारी खुलाएको छ । यी पदहरुमा अनुभवीलाई विशेष ग्राह्यता दिइने कम्पनीले जनाएको छ ।