काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडको ६ लाख कित्ता आइपीओको बाँडफाँड भएको छ । 

शुक्रबार काठमाण्डौको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैकिंग लिमीटेड परिसरमा दिउँसो २ः३० बजे आइपीओ बाँडफाँड गरिएको हो । 

न्यूनतम ५ हजारदेखि अधिकतम १ लाख ३ हजारसम्मको आवेदन दिएका लगानीकर्तामाझ चिठ्ठा विधि अपनाई सेयरको बाँडफाँड गरिएको छ । चिठ्ठा पर्ने प्रत्येकले १० कित्ताको दरले पाएका छन् । 

न्यूनतम १ लाख ४ हजारदेखि ३ लाख रुपैयाँसम्मको आवेदन दिने लगानीकर्तालाई ०.८९ प्रतिशत कित्ता समानुपातिक ढंगले वितरण गरिएको छ । 

कुल १ लाख २४ हजार ७ सय २५ आवेदकमध्ये ३८ हजार ८ ले मात्रै फरवार्डको आइपीओ पाएका छन् । अरु सबै जिल्लिएका छन् । 

कुल ५ लाख ४० हजार कित्ता सेयर आवेदकका लागि छुट्याइएको थियो । कर्मचारीका लागि ३० हजार कित्ता र म्युुचुुअल फण्डहरुका लागि बाँकी ३० हजार कित्ता छुट्याइएको थियो । फरवार्डको आइपीओका लागि परेका आवेदनमध्ये  २ हजार ६२ रद्ध भएका थिए । 

न्यूनतम ५० देखि अधिकतम ५ कित्तासम्मका लागि विनियोजित सेयरमा १०९ गुणा बढी आवेदन परेको थियो । यस्तै, न्यूनतम ५१० देखि ३ हजारसम्मको वर्गमा ११२ गुणा बढी आवेदन परेको थियो । 

फरवार्ड माइक्रो फाइनान्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा १४ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । आइपीओपछि चुक्तापूँजी २० करोडको उचाईमा पुुगेको छ ।