काठमाण्डौ । संसदको दोश्रो ठूलो दल नेकपा एमालेले स्थानीय निर्वाचनको क्रममा देशभरका महानगरहरुमा बहालवाला सांसद वा पार्टीका केन्द्रीय पदाधिकारीमध्ये कसैलाई मेयरको टिकट दिने रणनीति बनाएको छ । 

एमालेका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले स्थानीय निकायको पुनरसंरचना अनुसार कायम भएका महानगरमा हुने हारजित पार्टीको प्रतिष्ठासँग बढी जोडिने भन्दै ती ठाउँहरुमा कुनै सांसदलाई फिर्ता बोलाएर पठाइने वा पार्टीका केन्द्रीय पदाधिकारीमध्येकै व्यक्ति समेत जानसक्ने खुलासा गरेका हुन् । 

स्थानीय निकायको पुनरसंरचनापछि देशभर ४ वटा महानगर रहेका छन् । 

काठमाण्डौ, ललितपुर, भरतपुर र पोखरालाई महानगर बनाइएको छ । आउँदो निर्वाचनमा एमालेले यी चार ठाउँमा मेयरको टिकट उच्च तहका नेतालाई दिने भट्टराईले खुलासा गरेका हुन् ।

स्थानीय निर्वाचनको तयारीको क्रममा सोमबार पार्टी निकटका पत्रकारहरुसँग बानेश्वर थापागाउँस्थित प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित छलफलको क्रममा भट्टराईले सो कुरा बताएका हुन् । उनले देशभर एमालेको पक्षमा देखिएको लहरले कांग्रेस र माओवादी केन्द्र अत्तालिएका दाबी समेत गरे । ''यहीकारण एमालेलाई हराउने उद्देश्यले कांग्रेस र माओवादी मिलेर स्थानीय निर्वाचनमा प्रस्तुत हुन खोजिरहेका छन् ।'' उनले थपे-''तर एमालेको पक्षमा चलेको लहरलाई अब कसैले रोक्न सक्दैन ।'' 

उनले बैशाख ३१ गते एकै चरणमा निर्वाचन हुने उल्लेख गर्दै पार्टीले उपमहानगर, नगरपालिका, गाउँपालिकाहरुमा समेत जित्ने उम्मेद्वारलाई मात्र टिकट दिने प्रष्ट्याए । 

टिकटको छिनोफानो लाग्नुुअघिसम्म पार्टीभित्र बिमति, गुटउपगुटका कुरा हुनुलाई स्वभाविक भन्दै टिकट वितरणको चरण पार गरिसकेपछि भने एमाले एकढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे ।