काठमाण्डौ । सन् २०१६ को जनवरीमा वर्षकै तल्लो स्तरमा पुगेको कच्चा तेलको मूल्य मे महिनामा प्रति ब्यारेल ५० डलर नजिक पुगिसकेको छ । कच्चा पदार्थको मूल्यमा लगातार देखिएको वृद्धिले तेल आयात गर्ने अधिकांश देशहरुको टाउको दुख्न थालेको छ । कच्चा तेलको मूल्यमा भइरहेको बढोत्तरीका कारण तनावमा रहेका आयातकर्ता राष्ट्रहरुको ध्यान जुन महिनाको २ तारिखमा केन्द्रीत छ, सो दिन अष्ट्रियाको राजधानी भियनामा हुने तेल निर्यातकर्ता(उत्पादक) राष्ट्रहरुको संगठन ओपेकको बैठक हुँदैछ र सो बैठकमा कच्चा तेलमा भारि कटौतिको प्रस्ताव पेश हुने संभावना छ । यदि यो विषयमा सहमति कायम भए कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरसम्म पुग्नसक्ने विश्लेषण हुन थालेको छ । यदि यस्तो भयो भने नेपालको घरेलु बजारमा पेट्रोल र डिजेलको भाउ समेत प्रति लिटरमा ५ रुपैयाँ भन्दा बढीले वृद्धि हुनसक्छ । 

नाइजेरिया संकट, मुख्य कारण
कच्चा तेलको मूल्य यसरी आकाशिनुको मुख्य कारण नाइजेरियाको संकट पनि एक रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नाइजेरियामा आतंककारीले तेल पाइपलाइनलाई बम विस्फोट गराई ध्वस्त बनाइदिएका छन । ब्लुमबर्गको एक रिपोट अनुसार आतंकवादी घटनापछि नाइजेरियाको कच्चा तेल उत्पादन दैनिक ६ लाख ब्यारेलले घटी १६.९ लाख ब्यारेलमा आइपुगेको छ, यो गिरावट २० वर्षकै सबैभन्दा ठूलो गिरावट हो । नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो तेल उत्पादक देश हो । 

त्यहाँ आतंकवादीले शेल कम्पनीको टर्मिनल बन्द गरिदिएका छन् । जसको क्षमता दैनिक २.५० लाख ब्यारेल थियो । यसैगरी, शेवरान शहरको १.६० लाख ब्यारेल क्षमताको टर्मिनललाई समेत आतंकवादीहरुले बन्द गरिदिएका छन् । 

अमेरिकामा पनि घट्यो
यूएस इनर्जी इन्फरमेसनका अनुसार मे महिनामा अमेरिकामा कच्चा तेलको उत्पादनमा दैनिक १.१३ लाख ब्यारेलको गिरावट आइरहेको छ । यो हिसाबले मे र जुनमा अमेरिकामा कच्चा तेलको उत्पादन प्रतिदिन ४८.५ लाख ब्यारेल मात्र हुनेछ । अमेरिकी इनर्जी डिपार्टमेन्टको नयाँ तथ्याङ्क अनुसार अमेरिकाको कच्चा तेलको उत्पादनमा अझै गिरावटकै ट्रेण्ड देखिनेछ । 

क्यानडामा क्रूड उत्पादन ठप्प
क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी भएपछि ग्लोबल मार्केटमा कच्चा तेलको आपूर्तिमा गिरावट देखिइरहेको छ । आगलागीका कारण क्यानडाको आधाभन्दा बढी तेल खानीहरु बन्द भएका छन् । 

चीनमा पनि घट्यो उत्पादन
अप्रिल महिनामा चीनमा कच्चा तेलको उत्पादनमा ५.६ प्रतिशतले गिरावट आई १.६६ करोड टनमा सीमित भएको छ । यो रेकर्ड सन् २०१५ फेब्रुअरीपछिको सबैभन्दा तल्लो स्तर हो । त्यहाँको तथ्यांक विभागका अनुसार अप्रिलमा वर्षकै सबैभन्दा धेरै उत्पादन कटौति हुनसक्ने संभावना देखिएको छ । 

अन्तर्राष्ट्रिय क्षेत्रका तेल विश्लेषकहरुले आगामी कात्तिकसम्म कच्चा तेलको भाउ ५० डलर प्रतिब्यारेलको आसपासमै रहने दाबी गरेका छन् । केही महिना प्रति ब्यारेल ६० डलरसम्म पुगे पनि मूल्य, माग र आपूर्तिमा देखिएको समस्या जस्टिफाई नहुँदा फेरि घटेर ५० डलरकै हाराहारीमा आइपुग्ने बताइएको छ । 

अर्कोतर्फ ओपेक सदस्य राष्ट्र कच्चा तेलको उत्पादन घटाउने सहमतिमा पुग्दैछन् । यदि यस्तो भयो भने कच्चा तेलको मूल्य प्रति ब्यारेल ५० डलर भन्दा माथि पुग्ने निश्चित छ । अर्कोतर्फ नाइजेरिया संकट स्थायी होइन । नाइजेरियामा शान्ति बहाल भएसँगै बढ्दो कच्चा तेलको भाउमा केही नरमपन आउनसक्ने आँकलन समेत गर्न सकिन्छ । 

अर्काथरि केही विश्लेषक भने नाइजेरिया र क्यानडाको समस्या स्थायी नभएकोले छोटो अवधिका लागि कच्चा तेलको मूल्य प्रति ब्यारेल ५२ डलरसम्म पुग्नसक्ने दाबी गर्छन । त्यसपछि नाइजेरिया र क्यानडाको समस्या समाधान भएलगत्तै बजारमा उच्च आपूर्ति हुनेछ र यसले तेलको भाउमा गिरावट आउनसक्छ । 

अन्तर्राष्ट्रिय क्षेत्रका ब्रोकरहरुले समेत कच्चा तेलको बढ्नसक्ने मूल्यको बिषयमा फरक फरक आँकलन सार्वजनिक गरेका छन् । तर ती सबै आँकलनहरु ५० डलर भन्दा माथिकै छन् । जस्तो : गोल्डमेन सेक्सका अनुसार कच्चा तेलको मूल्य चाँडै नै ५० डलर भन्दा माथि पुग्नेछ । तर बैंक अफ अमेरिकाले चाहि चालु वर्षको चौथो त्रैमाससम्ममा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५४ डलर र सन् २०१७ मा प्रतिब्यारेल ५९ डलरसम्म पुग्ने प्रक्षेपण गरेको छ । 

२०१६ मा ८० प्रतिशतले बढ्यो कच्चा तेलको भाउ
जनवरी २०१६ मा कच्चा तेलको भाउ १२ वर्षकै सबैभन्दा तल्लो स्तरमा पुगेको थियो । डब्ल्यूटीआई क्रूड र ब्रेन्ट क्रूडको भाउमा निकै कम अन्तर समेत पहिलोपटक देखिएको थियो । जनवरी २०, २०१६ मा ब्रेन्ट क्रूड २७.१० र डब्ल्यूटीआई क्रूडले २६.१९ को तल्लो स्तर छोएका थिए । तर मंगलबार कच्चा तेलको मूल्य बढेर ५० डलर प्रति ब्यारेल नजिक पुगेको छ ।

नेपाललाई के हुनसक्छ असर ?
कच्चा तेलमा देखिएको तेज गतिको बढोत्तरीले नेपालमा निकै सस्तो बनेको पेट्रोल र डिजेलको भाउ पुनः बढ्नसक्छ । महंगो डिजलबाट यातायात, उद्योग कलकारखाना तथा डिजेल प्रयोग गरेर हुने उत्पादनहरुको भाउ समेत बढ्नेछ । नेपालजस्तो देशले भारतबाट तेल आयात गर्नुपर्ने बाध्यता भएकोले तेलमा लाग्दै आएको कुनै कर घटाएर सरकारले जनतालाई राहात दिन सक्छ, तर यो सहज संभव छैन । कारण तेलको खपतमा करतर्फ छुट तथा राहात दिन थाल्यो भने सरकारको वार्षिक बजेट खलबलिन सक्छ । अझ नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मुलुकको लागि कच्चा तेलको मूल्य बढ्नु भनेको अन्य सबै चिजको मूल्य बढ्नु हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा  तेलको भाउ बढ्नु भनेको आयातमुखी अर्थतन्त्र भएको मुलुकले आयात गर्ने सबै चिज तथा वस्तुहरुको भाउ बढ्नु हो । त्यसै पनि कालोबजारी अनियन्त्रित भई दोहोरो अंकको मूल्यवृद्धिको मार खेपिरहेका नेपाली जनताले कच्चा तेलको मूल्य बढेमा महंगीको थप भार खप्नुपर्ने निश्चित देखिन्छ ।