काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक बुधबार ५.२७ अंकले उकालो लाग्दा बिमा, बैकिङ(वाणिज्य बैंक) र विकास बैंक समूहको जगजगी कायम भयो । 

दिनहुँ उछाल आइरहेको बजार मंगलबार सामान्य करेक्सन भएको थियो । बुधबार बिमा, विकास बैंक र वाणिज्य बैंक समूहको सूचक उक्लिँदा समग्र बजार सूचक बढी नेप्से १४५८.३८ अंकमा पुगेको हो । 

विगत केही दिनदेखि लगातार बढिरहेको बिमा परिसूचक बुधबार पनि दोहोरो अंकले उक्लियो । बिमा समूह ४८.२४ अंकले उकालो लाग्दा विकास बैंक समूहको सूचक पनि १८.९१ अंकले बढ्यो । वाणिज्य बैंकको सूचक ५.१९ अंकले उक्लियो । 

बुधबार धेरै कमाउने कम्पनीमा विकास बैंक समूहभित्र पर्ने लघुवित्तहरु परे । नागबेली लघुवित्त, स्वावलम्वन, निर्धन उत्थानका लगानी कर्ताले धेरै कमाए । यी कम्पनीको मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ । केही लघुवित्त कम्पनीको शेयर मूल्य ९ प्रतिशतसम्म बढेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको मात्रै १० करोड ३५ लाख मूल्य बराबरको शेयर कारोबार भयो । नेशनल हाइड्रोपावर कम्पनी लिमीटेको ३ लाख ७९ हजार कित्ता शेयर किनबेच भयो । 

समग्र बजार परिसूचक बढे पनि मंगलबारको तुलनामा बुधबारको कुल कारोबार केही घटेको छ । मंगलबार करिब एकअर्बको शेयर कारोबार भएकोमा बुधबार ८६ करोड १३ लाखको मात्र कारोबार भयो । 

तारागाउ रिजेन्सी होटलको शेयर मूल्य उकालो लागे पनि होटल समूहको सूचक चाहि ४७.८ अंकले ओरालो लाग्यो । जलविद्युत र बित्त समूहको सूचक क्रमशः ८.२१ र ७.२३ अंकले ओर्लियो । 

बुधबार फ्लट र सेन्सेटिभ इण्डेक्स क्रमशः ०.४१ र ०.३६ अंकले उक्लियो । बजारमा १२९ कम्पनीको १३ लाख ४४ हजार ६ सय ८८ कित्ता शेयर किनबेच भएको थियो ।