काठमाण्डौ । पछिल्लो समय सामान्य लगानीकर्ता म्युचुअल फण्डतर्फ आकर्षित छन् । सेयर भन्दा यस्ता स्किममा लगानी कम जोखिमपूर्ण हुने ठानेर लगानीकर्ता आकर्षित भएका मानिएको छ । 

यसको पछिल्लो प्रमाण दुई कम्पनीले खुलाएका ८० करोड र १ सय अर्ब बढीको म्युचुअल फण्डमा परेको अचाक्ली आवेदन पनि एक हो । 

बैंक तथा बित्तीय संस्थामा लामो टर्ममा पैसा राख्दा जति ब्याज पाइन्छ, त्यस्ता बचतकर्ताले म्युचुअल फण्डमा लगानी गर्दा बढी नाफा प्राप्त गर्छन । यसमा सेयर बजारको भन्दा कम जोखिम हुन्छ । सेयर मार्केटमा कतिपय लगानीकर्ता आफैंले सेयर छनौट गर्न नसक्ने खालका हुन्छन् । तर, म्युचुअल फण्डको छनौट चाहि उसले मज्जाले गर्नसक्छ ।

हाल नेपाल स्टक एक्सचेञ्जमा ७ वटा म्युचुअल फण्डहरु सूचिकृत छन् । तिनीहरु ५० करोडको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १’,  १ सय करोडको ‘सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम’, ५० करोडको ‘लक्ष्मी भ्यालु फण्ड १’, ७५ करोडको ‘नवील ब्यालेन्स फण्ड १’, १ सय करोडको ‘एनआइबीएल समृद्धि फण्ड १’, ७५ करोडको ‘एनएमबी सुलभ फण्ड १’ र ८० करोडको ‘ग्लोबल आइएमई समुन्नति स्कीम १’ रहेका छन् ।

तर, सबै म्युचुअल फण्डहरुले राम्रै गरिरहेका होलान् त ? पक्कै छैन । पछिल्लो पटक भदौ महिनाको बित्तीय विवरण हेर्ने हो भने संचालनमा रहेका आधा म्युचुअल फण्डको खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) खुम्चिएको छ । 

हेरौं साउनको तुलनामा भदौंमा कुन म्युचुअल फण्ड प्रदर्शन कस्तो रह्यो :

लक्ष्मीको बढ्यो
लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड ’लक्ष्मी भ्यालू फण्ड(१’ को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) बढेको छ । 

यो फण्डको नेट एसेट भ्यालू साउनमा  १२ रुपैयाँ ९३ पैसा रहेकोमा भदौमा १३.६१ रुपैयाँ पुगेको छ । ५० करोडको फण्डबाट सुरु भएको यो स्किमले ४२ करोड ३१ लाख सूचिकृत  कम्पनीको सेयरमा तथा २७ लाख ८१ हजार रुपैयाँ सार्वजनिक निश्कासनहरुमा लगानी गरेको छ । ५० सूचिकृत कम्पनीका कुल ३ लाख १३ हजार ८ सय कित्ता सेयरमा यो म्युचुअल फण्डको लगानी छ । 

यो म्युचुअल फण्डको खूद नाफा साउनमा १२ करोड ९३ लाख रहेकोमा भदौंमा १३ करोड ६१ लाख पुगेको छ । यो हिसाबले यसको नाफा ३५.७५ प्रतिशतले वृद्धि भएको हो । 

यो फण्डले लगानी गरेका सेयरमध्ये सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनी लिमीटेडको मात्रै २९ हजार ६ सय ४० कित्तामा लगानी छ । 

नवीलको पनि बढोत्तरी
पाँचवर्षे बन्दमुखी म्युचुअल फण्ड ‘नवील ब्यालेन्स फण्ड–१’ को कुल सम्पत्ति मूल्य(नेट एसेट भ्यालु)मा सामान्य बढोत्तरी भएको छ । 

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडको प्रवद्र्धनमा संचालित म्युचुअल फण्डको अघिल्लो आर्थिक वर्षको भदौसम्ममा खास सम्पत्तिको मूल्य २८ रुपैयाँ २२ पैसा रहेकोमा २०७३ भदौसम्ममा यो मूल्य बढेर २९ रुपैयाँ ३८ पैसा पुगेको हो । 

फण्डको सम्पत्ति मूल्य प्रति इकाई मूल्य रु. १० भन्दा बढी कायम भएको हो । यो स्कीम ७५ करोडबाट सुरु भएको हो । हाल यो फण्डले १ अर्ब ५० करोड रुपैयाँ ६८ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । त्यस्तै ११ करोड ४४ लाख विभिन्न ऋणपत्रहरु, ६ करोड ९६ लाख सूचिकृत नभएका सेयरहरुमा लगानी गरेको छ । नवील ब्यालेन्स फण्डले विभिन्न कम्पनीका १ लाख ३० हजार कित्ता सेयर खरीद गरेको छ ।

ग्लोबल समुन्नतिमा झिनो वृद्धि
ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड ग्लोबल आइएमई समुन्नति स्कीम १ को नेट एसेट भ्यालु चाहि थोरै वृद्धि भएको देखिएको छ । साउन महिनामा १०.२८ रहेको नेट एसेट भ्यालू(एनएभी) भदौ महिनामा बढेर १०.६४ रुपैयाँ पुगेको हो । यो हिसाबले यसको एनएभी पनि १० रुपैयाँ प्रति इकाई भन्दा माथि नै रहेको छ ।

यो म्युचुअल फण्ड ८० करोडबाट सुरु गरिएको थियो । यसले ७१ करोड ८९ लाख रुपैयाँ ५९ वटा सूचिकृत कम्पनीका ३० लाख ९९ हजार ७ सय ५७  कित्ता सेयरमा लगानी गरेको छ । २७ लाख ३६ हजार रुपैयाँ चाहि सूचिकृत नभएका कम्पनीहरुको सेयरमा लगानी रहेको छ । 

साउनमा १ करोड ८७ लाख रहेको नाफा भदौमा भने १ करोड ७१ लाखमा खुम्चिएको छ । यो म्युचुअल फण्डले ५ करोड ८१ लाख रुपैयाँ नागरिक लगानी कोषमा मात्रै लगानी गरेको छ । 

सिद्धार्थ ग्रोथ घाटामा
सिद्धार्थ क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को नेट एसेज भ्यालू(एनएभी) पनि खुम्चिएको छ । 

यो स्कीमले प्रकाशित गरेको मासिक बित्तीय विवरण अनुसार साउनमा ३१.५३ रुपैयाँ रहेको एनएभी खुम्चिएर भदौमा ३०.०८ रुपैयाँमा झरेको हो । यो फण्डको एनएभी प्रति इकाई १० रुपैयाँ मूल्य भन्दा माथि नै छ । 

५० करोडबाट सुरु भएको यो फण्डले १ अर्ब १९ करोड रुपैयाँ सूचिकृत कम्पनीका सेयर, ४ करोड ८३ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । ८४ सूचिकृत कम्पनीको ११ लाख १८ हजार १ सय ७ कित्ता सेयरमा लगानी छ । 

गत असारको तुलनामा यो फण्डले भदौ महिनामा १ करोड ३५ लाख घाटा व्यहोर्नुपरेको छ । 

यो फण्डले पनि सबैभन्दा बढी ५० हजार ५ सय २७ कित्ता सेयर जलविद्युत लगानी तथा विकास कम्पनीकै खरीद गरेको छ । 

सिद्धार्थ इक्वीटीमा पहिरो
सिद्धार्थ क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी अर्को म्युचुअल फण्ड सिद्धार्थ इक्वीटी ओरिएन्टेड लिमीटेडको नेट एसेट भ्यालू भने साउनको तुलनामा भदौ महिनामा घटेको छ । 

साउनमा एनएभी १७.६४ रुपैयाँ रहेकोमा भदौ महिनामा यो घटेर १६.८८ रुपैयाँमा झरेको छ । यो स्कीम समेत १ अर्बको सुरुवाती लगानीबाट प्रारम्भ भएको थियो । यो म्युचुअल फण्डले ९० सूचिकृत कम्पनीहरुको कुल ११ लाख ६८ हजार ७ सय ३ कित्ता सेयरमा १ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै ३ करोड ९६ लाख सार्वजनिक निश्कासन, बोनस तथा हकप्रद सेयरमा लगानी रहेको छ । यो स्कीमले भदौमा मात्र खूद नाफामा ४४ लाख ७ हजारको क्षति भएको छ । 

कुल लगानीमध्ये यो स्कीमले सबैभन्दा बढी जलविद्युत लगानी तथा  विकास कम्पनीको ९९ हजार ४ सय २७ कित्ता सेयरमा लगानी गरेको छ । 

खुम्चियो एनआइबिएल समृद्धि फण्ड

एनआइबिएल क्यापिटल लिमीटेडद्वारा प्रवद्र्धित सात वर्षे बन्दमुखी म्युचुअल फण्ड एनआइबिएल समृद्धि फण्ड १ को नाफा तथा खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू ) भनेको घटेको छ ।  साउनमा यो फण्डको नेट एसेट भ्यालू १६.८१ रुपैयाँ रहेकोमा भदौंमा घटेर १६.२३ रुपैयाँमा झरेको हो । तर यो फण्डको नेट एसेट भ्यालू चाहि प्रति इकाई १० रुपैयाँ माथि नै छ । 

१ अर्बको यो फण्डले १ अर्ब २८ करोड रुपैयाँ ८४ वटा सूचिकृत कम्पनीको सेयरमा, ३ करोड ३० लाख रुपैयाँ विभिन्न खालका ऋणपत्रहरुमा, ६ करोड ८९ लाख पब्लिक इस्यू(सार्वजनिक निश्कासन), बोनस सेयर र हकप्रदमा लगानी गरेको छ । भदौंमा यो फण्डले ६ करोड ३० लाख खूद नाफा आर्जन गरेको छ । यो नाफा गत साउन महिनाको तुलनामा १ करोड १८ लाखले कमी हो । यो फण्डले ५ करोड ८० लाख रुपैयाँ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको सेयरमा लगानी गरेको छ ।