काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा देशको अर्थतन्त्र सवलउन्मुख हुँदै गएको र बित्तीय बजार सन्तुलनतर्फ उन्मुुख रहेको दाबी गरेको छ । 

शुक्रबार देशको आर्थिक तथा बित्तीय अवस्थाको पहिलो ६ महिना अवधिको समष्टिगत आर्थिक परिदृश्य प्रस्तुत गर्दै केन्द्रीय बैंकले नेपाल अर्थतन्त्र सवल बन्दै गएको बताएको हो । 

केन्द्रीय बैंकले उद्योग क्षेत्रको क्षमता उपयोग बढेको, उर्जा आपूर्ति सुदृढ भएको, पर्यटक आगमन वृद्धि भई यो क्षेत्रको समग्र वृद्धि दर पनि उच्च रहेको, कृषि उत्पादन सबल बनेको, मुद्रास्फिति दर घट्दै गएको, वैदेशिक मुद्राको सञ्चिती बढ्दै गएको, सरकारी बजेट स्थिति मजबुत बन्दै गएको, तरलता समस्या समेत समाधान उन्मुख रहेको भन्दै समग्र आर्थिक परिसूचकहरु सवलउन्मुख रहेका स्पष्ट पारेको हो । 

यस्ता छन् राष्ट्रबैंकले प्रस्तुत गरेका ७ कारण :
१. समष्टिगत आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्र सबलउन्मुख रहेको औंल्याएका छन् । उदाहरणको लागि उर्जा आपूर्तिमा भएको सुधार र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा आएको सहजताले उद्योग क्षेत्रको क्षमता उपयोग बढ्ने देखिएको छ । बहुप्रतिक्षित खिम्ती–ढल्केवर विद्युत प्रशारण लाइनको निर्माण कार्य सम्पन्न भएसँगै उर्जा आपूर्ति सुदृढ भएको र यसबाट औद्योगिक वातावरणमा थप सुधार हुने देखिन्छ ।

२.सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन संख्यामा ३५.४ प्रतिशतले वृद्धि भई कुल ७ लाख २९ हजार ५५० पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनमा भएको सुधारको परिणामस्वरुप होटल तथा रेष्टुरेन्ट व्यवसाय विस्तार हुने अनुमान छ ।

३. धानको उत्पादनमा भएको उल्लेख्य वृद्धिले कृषि क्षेत्रको वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अनुमान छ । कृषि क्षेत्रको उत्पादन, पर्यटक आगमन र औद्योगिक उत्पादनमा हुने सम्भावित सुधारबाट समग्र आर्थिक वृद्धिको परिदृष्य सुदृढ देखिएको छ ।

४. पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति दर घट्दै आएकोले नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर शून्यमा झरेको छ । पेट्रोलियम पदार्थको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने वृद्धि भने नेपालको मुद्रास्फीतिमा चुनौतीको रुपमा रहेको छ ।

५. आयातमा उच्च वृद्धि भएता पनि मुलुकको शोधनान्तर स्थिति बचतमा रहेकोले वैदेशिक मुद्राको सञ्चिति बढ्दै आएको छ । तर विप्रेषण आप्रवाहको घट्दो वृद्धिदर चिन्ताको विषय रहेको छ ।

६. सरकारी बजेट स्थिति मजवुद रहदैं आएको छ । राजस्वमा उल्लेख्य वृद्धि भएबाट सरकारी बजेट बचतमा रहेको कारण २०७३ पुस मसान्तसम्ममा राष्ट्रको ढुकुटीमा रु. २१७ अर्ब ६० करोड नगद मौज्दात कायम भएको छ ।

७. पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन र कर्जा प्रवाहको विस्तारमा देखिएको असन्तुलनका कारण केही वित्तीय घर्षण देखिएकोमा खुल्ला बजार कारोवार मार्फत् प्रवाहित तरलता र नेपाल राष्ट्र बैंकद्वारा हालसालै जारी बजार मार्गनिदर्शन (forward guidance)का कारण यस्तो घर्षणमा द्द सुधार आएकोछ । पछिल्ला दिनहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख रहेको देखाँउछ ।