काठमाण्डौ । अधिकांश मानिस आफ्नो आम्दानी बढाउनका लागि नयाँ कारोबार सुरु गर्न चाहन्छ, तर पैसा र समय व्यवस्थापन गर्न नसक्दा चाहेर पनि त्यो काम गर्न सक्दैन र पछाडि हट्न बाध्य हुन्छ । तर यस्तो काम मनैदेखि सुरु गर्ने हो भने र नयाँ आइडिया लगाउने हो भने धेरै समय र पैसाको आवश्यकता पर्दैन । यदि तपाईसँग स्पष्ट योजना छ भने ७ दिनमै आफ्नो विजिनेशको साथ पैसा समेत कमाउन सुरु गर्न सक्नुहुन्छ । हामी तपाईंलाई यस्तै ५ व्यापारको बिषयमा बताइरहेका छौं, जसलाई मात्र ७ दिनमा सुरु गरेर राम्रो कमाई गर्न सक्नुहुन्छ । 

सेयर कारोबार
यदि तपाईंले सेयर कारोबार गर्न चाहनुहुन्छ भने डिम्याट खाता खोल्नुपर्ने हुन्छ । यस्तो खाता खोल्न केही दिन नै काफी हुन्छ । डिम्याट खाता खोलेपछि तपाईंले ७ दिनभित्रै बजारमा लगानी गर्न सक्नुहुनेछ । 

यो ७ दिनमा तपाईंले बजारका आधारभूूत जानकारी हासिल गर्न खर्च गर्नुहोस् । जुन ब्रोकिङ हाउसबाट तपाईले डिम्याट खाता खोलिरहनुभएको छ वा जसको सल्लाहमा यो काम गरिरहनुभएको छ, त्यस्ता ठाउँ वा व्यक्तिबाट तपाईंले सेयर बजारको बिषयमा जानकारी लिन सक्नुहुन्छ । नेपालमा ७ दिने सेयर तालिम समेत आयोजना हुन्छ, त्यसमा समेत सहभागी बन्न सक्नुहुन्छ । 

बजारमा सुरुवातमा निकै सानो रकम मात्र लगानी गर्नुहोस् । सानो लगानीबाट तपाईंलाई कम जोखिम हुनेछ र त्यो अवधिमा बजारलाई बुझ्न समेत तपाईंलाई सहज हुनेछ । बिस्तारै कारोबार बढाएर तपाईंले सेयर बजारमा आफूलाई एउटा राम्रो लगानीकर्ताको रुपमा स्थापित गर्न सक्नुहुनेछ । त्यसपछि ब्रोकर बन्नका लागि समेत प्रयास गर्न सक्नुहुनेछ । मेहेनतसँग तपाईंले गरेको सेयर बजारको लगानीबाट रातारात करोडपति पनि बन्न बेर लाग्दैन । 

अनलाइन ट्यूटर
यदि तपाईंसँग कुनै खास बिषयमा विज्ञता छ र तपाईंसँग समीपमा आउनेलाई राम्रोसँग सम्झाउन वा कुरा बुझाउन सक्नुहुन्छ भने डिजिटल दुनियाँका सुविधाहरु प्रयोग गरेर तपाईंले ई–ट्यूटरको काम सुरु गर्न सक्नुहुन्छ । यो नेपालका लागि बिल्कुलै नयाँ काम समेत हुनेछ । 

तपाईंले केही विदेशी अनलाइनमा समेत अनलाइन ट्यूटरका लागि आवेदन दिन सक्नुहुनेछ । त्यसका लागि यस्ता धेरै वेबसाइटहरु छन्, जसले तपाईंलाई ई–ट्यूटर बन्न सहयोग गर्न सक्छन् । यस्ता अनलाइनहरुले तपाईंले आफ्नो बिषयमा पूरा जानकारी दिएर भेरिफिकेसनपछि आफ्नो प्रोफाइल बनाएर साइट्समा राखिदिन सहयोग गर्छन । त्यसपछि तपाईंलाई तपाईंको विज्ञतासँग सम्बन्धित विद्यार्थीहरुले सम्पर्क गर्न सक्नेछन् । यो प्रोसेस पूरा हुन मात्र ७ कार्यदिन काफी हुन्छ । 

बजारमा केही नक्कली वेबसाइटहरु पनि हुन्छन् । यस्ताबाट बच्न तपाईंले निकै मेहेनतका साथ रिसर्च गर्नुपर्ने हुन्छ । लाइभ अनलाइन ट्यूशन सेवा दिने भारतको चर्चित साइट वेदान्तु डटकमको दाबी अनुसार यदि कुनै ट्यूटर सो वेबसाइटसँग प्रत्येक दिन ४ घण्टा काम गर्छ भने उसले प्रति महिना भारु ४२ हजारसम्म कमाउन सक्छ । नेपालमै बस्ने त्यस्ता विज्ञहरुले यो अवधारणा अनुसार छुट्टै साइट्स खोल्न सक्नेछन् । अथवा, यूट्यूबमार्फत समेत आफ्नो विज्ञता अरुलाई बाँडेर मोटो कमाई गर्न सकिन्छ । 

हेण्डीमेन सर्भिस
यो यस्तो काम हो, जसले घरहरुको मर्मत तथा सानातिना निर्माणसँग जोडिएको काम गर्नेछ । यदि तपाईंले पनि काठमाण्डौ जस्ता ठूला शहरमा केन्द्रीत रहेर हेण्डीमेन सर्भिस सेन्टर खोल्न चाहनुहुन्छ भने तपाईंले मिस्त्री, प्लम्बर, इलेक्ट्रिसियनको बिषयमा काफी जानकारी राख्नुपर्ने हुन्छ । तपाईंले यस्ता व्यक्तिलाई सम्पर्कमा राख्नुहोस्, जसको कामबाट ग्राहक सन्तुष्ट हुन सकून् । तपाईंले यसका लागि वेबसाइट खोलेर वा मार्केटिङको सामान्य प्रक्रिया अपनाएर समेत आफ्नो सेवाको बिषयमा प्रचार प्रसार गर्न सक्नुहुनेछ । 

तपाईंले आफ्नो तर्फबाट सेवालाई गुणस्तरीय बनाउन कयौं नवीन कदम समेत उठाउन सक्नुहुनेछ । सर्भिस प्रोभाइडरले कालीगढहरुलाई ग्राहकसँग जोड्ने काम गर्नुपर्नेछ र उनीहरुले पाउने फिसबाट केही सानो हिस्सा आफ्ना लागि राख्न सक्नेछन् । यो सेवा देशका लागि नयाँ होइन, तर व्यवसायिक सर्भिस प्रोभाइडरको निकै खाँचो छ र यसमा निकै ठूलो संभावना पनि छ ।

तपार्इंले खोजेका मिस्त्री, प्लम्बर, इलेक्ट्रिसियनको नाम र ठेगाना आफ्नो इलाकामा रहेका हार्डवेयर पसलबाट प्राप्त गर्न सक्नुहुनेछ । इलेक्ट्रिकको पसलबाट इलेक्ट्रीसियनको नाम ठेगाना पत्ता लगाउन सकिनेछ । यस्ता व्यक्तिहरु कामको खोजीमा यस्ता सेन्टरको सम्पर्कमै रहन्छन् । 

नाम र ठेगाना संकलन गर्न, नाम छनौट गर्न, प्रचार प्रसारका लागि विज्ञापन दिन ७ कार्यदिन काफी हुन्छ । त्यसैले ढिला नगरी सुरु गर्नुहोस् सानो भन्दा सानो लगानीको हेण्डीमेन सर्भिस र लक्ष्य राख्नुहोस् भविष्यमा निकै ठूलो हेण्डीम्यान सर्भिसको रुपमा स्थापित हुने । 

फाइनान्स कन्सलटेन्ट
यदि तपाईं लगानीसँग जोडिएका बिषयमा सल्लाह दिन माहिर हुनुहुन्छ भने यो काम गर्न सक्नुहुनेछ । प्रमुख बैंक, बिमाहरुले आफ्नो सेवाका लागि एजेन्टहरुको नियुक्त गर्छन्, यसमा तपाईंले पनि चान्स पाउन सक्नुहुन्छ । तपाईं यस्ता जस्तोसुकै संस्थासँग जोडिएर एकहप्ताको तालिमपछि बजारमा उत्रन सक्नुहुनेछ । नेपालमा बिमाको अभिकर्ता वा एजेन्ट हुनका लागि ७ दिनको तालिम नै काफी हुनेछ र उनीहरुको कमाई पनि निकै राम्रो हुन्छ । समयसँगै तपाईंले एउटा मात्र होइन, धेरैवटा संस्थामा रहेका आफ्नो क्षमता र विज्ञतालाई बिक्री गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले आफू नजिकका बिमा कम्पनी, बंैंकहरुमा गएर कुरा बुझ्न सक्नुहुनेछ । अहिले नेपालका कतिपय रियल स्टेट कम्पनीहरुले समेत एजेन्ट नियुक्त गरिरहेका हुन्छन्, यसतर्फ समेत तपाईंले ध्यान दिनुपर्ने हुन्छ । 

फ्रिलान्सर
यदि तपाई आइटीदेखि कन्टेन्ट लेखनमा समेत पोख्त हुनुहुन्छ भने फ्रिलान्सरको काम सुरु गर्न सक्नुहुनेछ । विश्वमा यस्ता अनेकन साइटहरु छन्, जहाँ दर्ता भएर तपाईंले घरमै बसी बसी लाखौं रुपैयाँ कमाइ गर्न सक्नुहुन्छ । 

थोरै रिसर्च गरेर तपाईंले यस्तो साइट पत्ता लगाउन सक्नुहुन्छ, जहाँ तपाईंको काम र त्यसको फिस समेत सही ढंगले अफर गरिएको हुन्छ । तर, ध्यान राख्नुहोस्, कतिपय यस्ता साइटहरु नक्कली पनि हुन्छन्, सक्कली थाहा पाउनका लागि आफैंले रिसर्च बढी गर्नुपर्ने हुन्छ । 

एकपटक फ्रिलान्सरमा पहिचान बनाउनसक्नुभयो भने त्यसपछि आफैंले निजी वेबसाइट खोलेर समेत यो विजिनेशलाई वृहत रुपमा सुरु गर्न सकिनेछ । टेलिग्राफका अनुसार स्पेनिशबाट अंग्रेजीमा ट्रान्सलेसनका लागि तपाईंलाई अन्तर्राष्ट्रिय वेबसाइटहरुले १५ सय रुपैयाँ प्रतिघण्टा भन्दा बढीको अफर दिने गरेका छन् । नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमै ट्रान्सलेसनका लागि समेत राम्रो पैसा पाइन्छ । 

यस अलावा वेबसाइट विकास, वेबसाइटको डिजाइन, मोवाइल एप लगायत बनाएर समेत तपाईंले मोटो कमाई गर्न सक्नुहुनेछ । नेपालमा वेबसाइट खोल्ने, मोवाइल एप बनाउने लहर नै चलेको छ । कतिपय कम्पनीले एउटा सामान्य वेबसाइट डेभलप गरेको २ लाख रुपैयाँसम्म लिने गर्छन । मोवाइल एप बनाएको ५० हजार देखि ३ लाख रुपैयाँसम्म लिने गर्छन । तपाईं पनि यो काम गरेर राम्रो आम्दानी गर्न सक्नुहुनेछ ।