काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक राष्टबैंकले तोकेको समय  भन्दा निकै अघि नै ८ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो निजी बैंक  बन्न सफल भएको छ । 

बैंकको संचालक समितिले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने भनी गरेको घोषणा मंगलबार सम्पन्न ३० औं वार्षिक साधारणसभाबाट पारित भएसँगै इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी करिब ९ अर्ब नजिक पुगेको हो । 

बैंकका एक संचालकका अनुसार २० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित भएपछि चुक्तापूँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । 

नेपाल राष्टबैंकले देशका वाणिज्य बैंकहरुले ०७४ असार मसान्तभित्र ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने सीमा तोकेको छ । सो समयसीमा भन्दा ९ महिनाअघि नै ८ अर्ब चुक्तापूँजी पुर्याउने सफलता प्राप्त गरेको हो । 

हाल इन्भेष्टमेन्ट बैंकको कुल पुँजी कोष १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । 

बैंकले जारी गरेको विज्ञप्तिका अनुसार साधारण सेयरधनीहरुको तर्फबाट साधारणसभाले भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठलाई संचालकको रुपमा चयन गरेको छ । विनोदकुमार गुरागाईँलाई विगतको राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै सञ्चालक चयन गरिएको छ ।

आर्थिक वषृ २०७२/७३ को चौथो त्रैमास अवधिमा यो बैंकले अघिल्लो वर्षको तुलनामा नाफामा ३० प्रतिशत बढीको वृद्धि हासिल गर्दै कुल २ अर्ब ५५ करोड खूद नाफा आर्जन गरेको थियो । 

हाल यो बैंकले ४७ शाखा, ८२ एटीएममार्फ ७ लाखभन्दा बढी ग्राहकहरूलाई बैकिङ सेवा प्रदान गर्दै आएको छ । स्मरण रहोस्, यो बैंकल बेलायतबाट प्रकाशित हुने दि बैंकर पत्रिकाले दिने बैंक अफ दि इयरको उपाधिबाट ४ पटक सम्मानित भइसकेको छ ।