काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र रसुवाको केरुङ नाकाबाट ठूलो परिमाणमा अवैध सुन ओसारपसार हुँदैआएको छ । 

२०७३ पुस २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बरामद गरेपछि धेरै कुराहरु खुल्न थालेका छन् । ३३ किलो सुन बरामद भएको एक सातामै रसुवा नाकाबाट आएको १५ किलो सुन २०७३ पुस २९ गते राति महानगरीय प्रहरी बृत्त बालाजुले चमती करिडोरबाट बरामद गरेको छ । 

यसअघि बौद्ध प्रहरीले मंसिर १८ गते मोटरसाइकल जाँच गर्ने क्रममा १० किलो सुुन बरामद गरेको थियो । गएको पुस ६ गते रसुवामा ५ किलो सुनसहित वीरेन लामा पक्राउ परेका थिए । त्यसलगत्तै पुस १४ गते नै हाइलक्स गाडीमा लुकाएर ल्याएको अवस्थामा महानगरीय अपराध महाशाखा टेकुले ७ किलो सुन कलंकीबाट बरामद गरेको थियो । पुसमै काठमाडौं पेप्सीकोलाबाट ३ किलो सुन बरामद भएको थियो । मंसिर र पुसमा मात्र अवैध रुपमा भित्रिएको ७३ किलो सुन प्रहरीले बरामद गरेको छ । 

प्रहरीले आक्कलझुक्कल अनुसन्धान गर्दा फेलापारेको यो सुन बरामदको घटनाले नेपालमा दैनिक सयौं किलो सुन रसुवा र विमानस्थल भन्सार हुँदै भित्रने र त्यो काठमाडौंबाट भैरहवा हुँदै भारतमा जाने गरेको राजस्व अनुसन्धान विभाग स्रोतले बताएको छ । रसुवा र विमानस्थल भन्सारबाट सुन ब्यापक मात्रामा आइरहेको छ, फाट्टफु्ट्ट मात्र बरामद हुन्छ भन्ने कुरा सीआइबीले ३३ किलो सुनसहित पक्राउ गरेका गोपाल शाहीले ११ पटकमा ३ सय किलो सुन नेपालमा ल्याइसकेको बयान दिएको घटनाले पुृष्टी गर्दछ । 

गोपाल शाही भरियामात्र हुन् । उनी जस्ता अरु भरियामात्र पक्राउ पर्छन् तर वास्तविक सुनका मालिक को हुन् त्यो नखुलेसम्म नेपालबाट सुन तस्करी नरोकिने प्रहरी अधिकारी बताउँछन् । 

यस्तो छ सुन तस्करीको जालो  
गत साउन २० गते अर्थमन्त्रीको शपथ लिएलगत्तै कृष्णबहादुर महराले सुन भित्रने मुख्य नाका त्रिभुवन विमानस्थल भन्सार कार्यालय र रसुवागढी भन्सार कार्यालयमा आफू अनुकूल कर्मचारी सरुवा गरेका थिए । ती दुई नाकाबाट भित्रिएको सुन काठमाडौंबाट भैरहवा भन्सार हुँदै भारत पु¥याउने सेटिङ मिलाइएको रहस्य खुल्न थालेको छ । जसका लागि भैरहवा भन्सारमा पनि मन्त्री महराले आफ्नै पार्टी निकट उपसचिव र अधिकृतलाई सरुवा गरेका थिए । 

राजस्व अनुसन्धान विभागमा सुन तस्करीको सेटिङ गर्ने गरी एक अनुसन्धान अधिकृतलाई भइसकेको सरुवा पनि रद्द गरी राखिएको खुलासा भएको छ । सुरुमा अवैध सुन भित्रिने नाका एयरपोर्ट भन्सारमा मन्त्री महराको निजी सचिवालयमा कार्यरत शाखा अधिकृत गुणराज भण्डारी र कम्प्युटर अधिकृत मदनकुमार श्रेष्ठलाई सरुवा गरिएको थियो । 

त्यसपछि मन्त्री महरा र उनका निजी सचिव नेत्र पौडेलले अर्को सुन भित्रने नाका रसुवागढी भन्सारमा शाखा अधिकृत भीम आङदम्बेलाई खटाए । आङदम्बे पनि महराकै सचिवालयबाट रसुवागढी सरुवा भएका हुन् । एयरपोर्ट र रसु्वागढीमा आफूनिकट कर्मचारी खटाइसकेपछि एयरपोर्ट भन्सारका सोझा प्रशासक योगेन्द्र गौचनलाई पनि दुई महिनाअघि महालेखा नियन्त्रक कार्यालयमा धपाइयो । 

र, सुन तस्करीको सेटिङ मिलाउनकै लागि गतबर्ष सहसचिव बढुवा भएका माओवादी निकट नारायणप्रसाद सापकोटालाई भन्सार प्रशासक बनाइयो । रसुवागढी भन्सारका प्रमुख केदार पनेरुको सरुवा भएको एक बर्षमात्र भए पनि पनेरुलाई हटाएर सुन तस्करीको सेटिङ मिलाउन गोपाल कोइरालालाई लगियो । भैरहवा भन्सार कार्यालयको प्रमुखमा माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अर्थमन्त्रालयको विभागीय अध्यक्ष भइसकेका उपसचिव भूपाल शाक्यलाई सरुवा गरियो । भैरहवाको भन्सार प्रमुखमा भन्सार विभागले उपसचिव सूर्य सेढाईलाई सरुवा गर्ने तय भइसकेपछि नेत्र पौडेल, महरापुत्र निर्मल महरा एटमले रातारात दबाब दिएर भूपाल शाक्यलाई सरुवा गराएका थिए । 

भैरहवा भन्सार कार्यालयको भन्सार अधिकृतमा राष्ट्रिय कर्मचारी संगठन(राकस)कै मानबहादुर विकलाई सरुवा गरियो । विक अर्थमन्त्री महराका विद्यार्थी हुन् । भैरहवाको भन्सार अधिकृतमा सुरुमा माओवादी कर्मचारी संगठन राकसका केन्द्रीय उपाध्यक्ष धनबहादुर बरुवाललाई सरुवा गर्ने निश्चित भएको भए पनि मन्त्री महराले हस्तक्षेप गरी विकलाई सरुवा गराएका थिए । सुन तस्करीमा राजस्व अनुसन्धान विभागको सहयोग अपरिहार्य भएकाले राजस्व अनुसन्धान विभागमा अवसरवादी चरित्रका अनुसन्धान अधिकृत अर्जुन थापालाई जिम्मा दिइयो । 

निजामती सेवा ऐन नियमविपरीत ६ बर्षदेखि विभागमा कार्यरत अनुसन्धान अधिकृत थापाको गएको असोजमा आन्तरिक राजस्व विभाग अन्तर्गत सरुवा भए पनि नेत्र पौडेल र निर्मल महराले रद्द गराएको खुलासा भएको छ । विभागका महानिर्देशक निर्मलहरि अधिकारीलाई अर्जुन थापाले नचाइरहेका छन् । अधिकारी सोझा सहसचिवमा गनिन्छन् । २०५९ मा तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले राजस्व समूहका २२ भ्रष्ट कर्मचारी पक्राउ गरेका थिए । तिनै २२ भाइमध्येका हुन् अधिकृत अर्जुन थापा । उनीविरुद्ध सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । 

१५ बर्षदेखि अदालतका फाँटवालालाई प्रभावमा पार्दै उनले पेशी सार्दै राजस्व अनुसन्धानमा बसी अवैध सुन ओसारपसार गरी करोडौं रुपैयाँ थप आर्जन गरेका छन् । त्यसरी आर्जित रकम रकम उनले जेठान विमलसिंह थापामार्फत् न्यूरोडका ब्यापारी जगदिश श्रेष्ठ र योेगेश श्रेष्ठमार्फत् विभिन्न ब्यापारमा लगानी गरेको खुल्नमा आएको छ । जगदिश र योगेश हुन्डीदेखि सबै ब्यापारमा संलग्न छन् । राजस्वका अरु कर्मचारीको भ्रष्टाचारको रकम पनि अर्जुनले यिनै ब्यापारीमार्फत् लगानी गरेको दाबी स्रोतले गरेको छ ।   

अर्जुन थापा माओवादी निकट कर्मचारी संगठनमा आवद्ध नभए पनि मन्त्री महराका पीए नेत्र पौडेल र निर्मल महराले उनलाई सुनको कारोबारमा आफ्नो समूहको खास विश्वासपात्र बनाएका छन् । 

राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयमा राकसकै नेता अनुसन्धान अधिकृत चक्र ढुंगानालाई पठाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र रसुवागढी भन्सारमा मन्त्री महराको सेटिङमा खटाइएका कर्मचारीले सुन काठमाडौं भित्र्याउने काम गर्दछन् । काठमाडौं भित्रिसकेपछि चितवनसम्म राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत अर्जुन थापाले गर्दछन् भने चितवनबाट भैरहवा पु¥याउने काम बुटवल राजस्वका अनुसन्धान अधिकृत चक्र ढुंगानाले गर्दैआएका छन् । अनुसन्धान अधिकृतद्वय थापा र ढुंगानाले सुनको गाडी स्कर्टिङ नै गरी लाने गरेको स्रोतले बतायो । 

भैरहवाबाट सुनौलीतिर पास गराउने काम भन्सार प्रमुख भूपाल शाक्य र भन्सार अधिकृत मानवबहादुर विकले गर्दैआएका छन् । स्रोतका अनुसार अर्थमन्त्री महराले बनाएको तस्करीको जालोले महिनामा सयौं किलो सुन भारततर्फ लाने गरेको छ । यो सेटिङमा अर्जुन थापाबाहेक अरु सबै माओवादी कर्मचारी संगठनका नेता र विगतमा नेतृत्व गर्दै आएको माअ‍ोवादी निकट कर्मचारीहरु नै छन् ।  

सुन तस्करीमा भन्सार कर्मचारीकै मिलेमतो

गएको पुस २१ गते दुबईबाट अवैध रुपमा भित्रिएको ३३ किलो सुन भन्सार हाताबाट बाहिरिएपछि बरामद भएकाले तस्करीमा भन्सार कर्मचारी नै दोषी रहेको कुरा खुल्न थालेको छ । भन्सार कार्यालयले आफ्नो दोष नभएको भन्दै उक्त सुन आकाशबाट गौशालनजिक खसेजस्तो दलिल पेश गर्दैआएको छ । भन्सार कर्मचारीले अवैध रुपमा सुन भित्र्याउने गरेको खुल्दै गए पनि अर्थमन्त्री महराले अहिलेसम्म दोषी कर्मचारीदेखि भन्सार प्रशासकलाई विमानस्थलबाट तानेका छैनन् । जबकि सुन भित्रिएकै दिन भन्सार प्रशासक सापकोटालाई मन्त्रालयमा तानेर छानबिन गर्नुपर्ने थियो । 

अर्थमन्त्रालयका एक अधिकारी त भन्सार प्रशासकलाई निलम्बन नै गरी छानबिन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, भन्सारका कर्मचारीको मिलेमतो देखिएपछि भन्सार प्रशासकलाई किन तानिएको छैन । भन्सारमा तोकआदेशका भरमा १० बर्षदेखि करारमा राखिएका एक्सरे टेक्निसियनहरु सुन तस्करीमा संलग्न रहेको एक जना पक्राउ र दुई जना निलम्बनपछि खुलिसकेको छ । दरबन्दी नै नभएका रेडियो टेक्निसियनलाई १५ बर्षदेखि सुन तस्करीकै लागि राखिएको छ । 

तथ्यांक अधिकृत श्रीनारायण यादव बीचमा केही महिना बाहेक १५ बर्षदेखि विमानस्थल भन्सारमै कार्यरत रहेको खुलेको छ । उनलाई निजामती सेवा ऐन अनुसार दुई दुई बर्षमा हुने सरुवाको प्रावधान किन लागू हुन सकेन ? १५ बर्षदेखि कार्यरत एक्सरे टेक्निसियन रहेका छन् । 

एक्सरे टेक्निसियनको जनशक्ति विकास गर्न भन्सार विभागले किन चासो दिएको छैन ? एक्सरे मेसिन विमानस्थल भन्सारको अगाडिपट्टि राखिएकोमा किन पछाडि लगेर राखियो ? यी र यस्ता यावत प्रश्नले पनि सुन तस्करीमा भन्सार कर्मचारीको मिलेमतोलाई उजागर गर्दछ ।   

पुस २६ गते विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव पक्राउ परेपछि भन्सार प्रशासक सापकोटाले कार्यालयमा प्रमुख भन्सार अधिकृत टंक पौडेल र केही एक्सरे टेक्निसियनलाई बोलाएर बैठक राखेका थिए । सो बैठकमा सुन तस्करीको घटनामा आआफू जोगिने तर अरुको नाम बयानमा नपोल्ने जस्ता बिषयमा छलफल गरेको खुल्नमा आएको छ ।

तस्करको योजनामा सुराकी भत्ता खारेज

अवैध सुन भित्रिने क्रम पछिल्ला दिनमा ब्यापक बढेको छ । सुन बरामद भएबापत १५ प्रतिशत सुराकी भत्ता दिने ब्यवस्था डेढ बर्षअघि भन्सार ऐन संशोधन गरी हटाइयो । त्यसपछि सुन तस्करी झन् ब्यापक बढेको स्रोतको दाबी छ । सुन तस्करकै योजनामा तत्कालीन अर्थमन्त्री डा.रामशरण महत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हालै बर्खास्त प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सुनमा सुराकी दिने ब्यवस्था हटाएका हुन् । 

सुराकी भत्ता १५ प्रतिशत दिने ब्यवस्था हुँदा सुन बोक्ने भरियाले पनि सुराकी दिने भएपछि तस्करकै डिजाइनमा यो ब्यवस्था हटाइएको थियो । सुन बरामद भएपछि सुराकी भत्ता हटाएर बढीमा ५ लाखसम्म दिने ब्यवस्था गरिएको थियो । त्यसपछि जीउज्यान जोखिममा राखेर सुन बरामद गर्न प्रहरीका युनिटहरु पनि लाग्न छाडे । फलस्वरुप सुन तस्करी ह्वात्तै बढ्यो । 

अवैध सुन खरिदका लागि ठूलो परिमाणमा अमेरिकी डलर हुन्डीबाट विदेशियो । र, राष्ट्रबैंकमा डलर अभाव हुन गएको हो । सुन तस्करीका लागि हुन्डीबाट डलर बाहिर पठाएर देशको अर्थतन्त्र नै खोक्रो पार्ने  काम तस्करहरुले गरेका छन् । यस्तो अक्षम्य अपराध गर्ने सुनतस्करबारे सरकारी निकाय जानकार भएर पनि केही गर्न सकेका छैनन् । भरिया समातेर बहादुरी देखाउने काम भएको छ । अवैध सुन ओसारपसारमा अन्तर्राष्ट्रिय गिरोह पनि संलग्न रहेको कुरा दुवई र हङकङ विमानस्थलबाट नेपालमा भित्रिएको घटनाले पुष्टी गरेको छ । 

काठमाडौंको खिचापोखरीदेखि चीनको ग्वाङझाउमा समेत कार्यालय रहेका विमल पोद्दारले अवैध रुपमा सुन ओसारपसारमा अन्तर्राष्ट्रिय च्यानल मिलाउने गरेको स्रोतले बतायो । स्रोतका अनुसार तिनै पोद्दारले नेपालबाट सुन खरिदका लागि अमेरिकी डलर हुन्डीमार्फत् दुवई र हङकङ लैजाने गरेका छन् । यो खबर आजको दृष्टि साप्ताहिकमा छापिएको छ ।