काठमाण्डौ । मुकेशराज काफ्लेको राजीनामापछि रिक्त रहेको नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सरकारले कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

बुधबारको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक समेत थिए । तर, काम सन्तोषजनक नभएको भन्दै नेपाल विद्युत प्रधिकरण सञ्चालक समितिको बैठकले घिसिङलाई चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । सो बेला उर्जामन्त्री  राधा ज्ञवाली थिइन । राधा ज्ञवालीले समेत चिलिमे हाँक्न नसकेका भनी असक्षमको बिल्ला भिराएका घिसिङलाई प्राधिकरण प्रमुख नियुक्त गरिएको हो । घिसिङ प्राधिकरणकै ११औ तहका कर्मचारी हुन् । प्राधिकरणमा उनीभन्दा वरिष्ठ तहका कर्मचारी पनि रहेका छन् । उनीहरुलाई समेत मिलाएर बढ्दो लोडसेडिङ कम गराई उच्च विद्युत चुहावटलाई समेत नियन्त्रण गर्नु उनका मुख्य चुनौति रहने जानकार बताउँछन । 

उर्जामन्त्रीले प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्तिका लागि मन्त्रालयका सहसचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा समिति बनाएका थिए । सोही समितिको सिफारिसको आधारमा घिसिङलाई सरकारले प्रबन्ध निर्देशक बनाएको हो ।