काठमाण्डौ । नेपाल, भारत  जस्ता मुलुकका दक्ष कामदारलाई अमेरिकामा हाइटेक  जागिरका लागि स्वीकृति दिने ‘एच वान बी भिजा’का विद्यमान प्रावधानहरुमा ठूलो बदलावको प्रस्ताव दोश्रो पटक पुनः पेश गरिएको छ । यो भिजा प्रक्रिया तथा   अधिकांश प्रावधानहरुमा बदलावको माग गर्दै दुई सांसदले अमेरिकी संसदमा विधेयक पेश गरेका हुन् । ती सांसदहरुको दाबी अनुसार यो संसोधन विधेयक पास भएपछि कामदार भिजामा लामो समयदेखि हुँदै आएको दुरुपयोग रोकिनेछ । 

एजेन्सीहरुका अनुसार अमेरिकाका रिपब्लिकन सांसद डेरेल इसा र स्कट पिटर्सले हिजो ‘प्रोटेक्ट एण्ड ग्रो अमेरिकन जब्स एक्ट’ नामको  विधेयक संसदमा पुनः पेश गरेका हुन् । यसमा एच वान बी भिजाको अधिकांश प्रावधानमा निकै ठूलो परिवर्तनको  प्रस्ताव गरिएको छ । 

यो विधेयकमा एच वान बी भिजाको न्यूनतम तलब वार्षिक १ लाख डलर कायम गर्नुपर्ने तथा मास्टर डिग्रीलाई छुट दिने प्रावधान समेत अन्त हुनुपर्ने मुद्धा समेटिएको छ । यी दुई  सांसदले यो विधेयक पास भएपछि भिजा दुरुपयोग मात्र नरोकिने, बरु विश्वका सर्वश्रेष्ठ प्रतिभाले मात्र नोकरी पाउँछन् भन्ने कुराको समेत प्रमाणित हुने दाबी गरेका छन् । 

कतिपय  कम्पनी जस्तै, मसलन डिज्नी, सोकाला एडिसन तथा अन्यमाथि लामो समयदेखि एच वान बी भिजा दुरुपयोगको आरोप लाग्दै आएको छ । यस्तै अमेरिकी नागरिकलाई  यस्ता कम्पनीले कामबाट निकालेर सस्तोमा  विदेशी कामदारलाई राख्ने गरेका र यसले अमेरिकी जनताको रोजगारीको हक खोसिएको आरोप समेत लाग्ने गरेको छ । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले समेत केही कम्पनीहरुको नामै किटेर एच  वान बी  भिजा दुरुपयोग जसरी पनि रोक्ने र अमेरिकन कम्पनीहरुमा रोजगारीको पहिलो अवसर अमेरिकी  नागरिकहरुलाई प्राप्त हुने  प्रणालीको विकास गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । उनले एच वान  बी भिजाका  प्रावधानमा  कडाई गर्ने  घोषणा गरेपछि यी दुई सांसदले सो सम्बन्धी  विधेयक संसदमा दोश्रो पटक पेश  गरेका हुन् ।