काठमाण्डौ । तीन राजनीतिक विश्लेषकहरुले ठूला दलले राजनीतिकर्मीको सर्वोच्चता कायम गराउने उद्देश्यले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको ग्राण्ड डिजाइन रचेका आरोप लगाएका छन् । 

उनीहरुले लोकमानसिंह कार्कीले दलका नेताहरुलाई नपुछेको, उनीहरुले बोलाएको चिया बैठकमा नगएको र आफ्नै नेताहरुलाई पक्राउ गर्ने प्रयास गरेपछि रातारात महाअभियोगको प्रकरण रचिएको दाबी समेत गरे । 

एभिन्यूज टेलिभिजनको विशेष संवादमा कुरा गर्दै वरिष्ठ पत्रकार तथा विश्लेषक देवप्रकाश त्रिपाठी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सद्भावना पार्टीका महासचिव तथा विश्लेषक मनिष सुमनले यस्तो दाबी गरेका हुन् । 

विश्लेषक त्रिपाठीले लोकमानमाथिको महाअभियोग प्रकरण नाटकीय ढंगले सिर्जना गरिएको दाबी गरे । ‘राज्य र जनताले थाहा पाउने किसिमको गल्ती लोकमानबाट भएको देखिन्न ।’ उनले थपे–‘आफू र आफ्ना नेता भ्रष्टाचार  प्रकरणमा फस्ने भएपछि रातारात यो प्रकरणको डिजाइन भयो, यसले हामीजस्ता तटस्थ विचार राख्नेलाई स्तब्ध बनाएको छ ।’ उनले संविधान कार्यान्वयन लगायतका पेचिला विषयहरुमा दलहरु एक भएर टुंगोमा पुग्लान् भन्ने आम पर्खाई र चासोलाई डाइभर्ट गर्दै महाअभियोगको डिजाइन रचिएको दाबी पनि गरे । 

उनले राजनीतिक दलहरुले सर्वमान्य रुपमा मन्त्रीपरिषद अध्यक्ष बनाएका खिलराज रेग्मी सरकारको पालामा लोकमानको नियुक्ति भएकोले सो नियुक्तिलाई सर्वमान्य नियुक्तिको संज्ञा दिंदै भने–‘३ वर्षसम्म भ्रष्टहरुलाई पक्रदा प्रशंसा पाएको व्यक्तिलाई रातारात फसाउन खोजिएको देखिन्छ ।’ 

एकवर्षअघि लोकमानले उच्च तहका कर्मचारी, उच्च प्रहरी अधिकारी, राजनीतिक दलका ठूला नेताहरुलाई समेत भ्रष्टाचार प्रकरणमा अनुसन्धानको दायरामा ल्याएका, राष्ट्रबैंकमा गएर कस–कसको खाता कहाँ–कहाँ छ भनेर खोजबिन गरेका लगायतका कामबाट नेताहरु झस्किएका र त्यही समयबाट लोकमानविरुद्ध दलका केही नेता  लागेका दाबी गरे । ‘सो बेला विदेशमा कसैले राखेको ठूलो धनराशि फेला पर्यो । त्यो कसरी भित्र्याउने भन्ने प्रयास भइरहेकै बेला अख्तियारले त्यसलाई रोकिदियो ।’ उनले भने–‘त्यसपछि थप चिढिएकाहरु मौका हेरेर बसिरहेका थिए ।’ 

उनले ०६२/६३ को राजनीतिक परिवर्तनपछि राजनीतिक सर्वोच्चतासँगै राजनीतिकर्मीको सर्वोच्चता पनि हाबी भएको र त्यसैको  परिणाम लोकमान महाअभियोग प्रकरण जन्मिएको दाबी पनि गरे । ‘लोकतन्त्रमा विधिको सर्वोच्चता हुनुपर्ने हो, त्यो देखिएन ।’ उनले थपे–‘लोकमानलाई गलहत्याउन खोज्नेहरुको स्वार्थ पनि राजनीतिकर्मीहरुको सर्वोच्चता युगौसम्म कायम रहिरहोस् भन्ने सोंच देखिन्छ ।’ 

उनले दलका नेताहरुको मनमा कोहीप्रति डर थियो भने अख्तियार र त्यसका प्रमुख आयुक्त लोकमानसिंहप्रति नै डर रहेको उल्लेख गर्दै भने–‘अहिले ठूला दलका नेता मिलेर त्यही डरलाई भगाउन खोजिरहेका हुन् ।’ 

उनले लोकमानमाथि हठात् प्रहार हुनुको रहस्यको खुलासा गर्दै भने–‘अख्तियारले आफ्नो कारबाही द्रूत गतिमा अगाडि बढाउन खोजेको थियो । माओवादी लडाकू शिविरमा भएको भ्रष्टाचारको कुरा, राज्यलक्ष्मी गोल्छालाई सांसद बनाउँदा घूस लिएको लगायतका प्रकरणमा केही नेतालाई पत्र काटिने तयारी भएको थियो ।’

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पनि लोकमानको जिम्मेवारी अनुसारको महाअभियोग प्रस्ताव दर्ता नभएको जिकिर गरे । ‘संवैधानिक अंगका मान्छेलाई पदबाट हटाउने संविधानको एउटा प्रक्रिया अन्तर्गत आउनु स्वभाविक हो ।’ उनले भने–‘तिललाई पहाड बनाइयो, यो ठूलो कुरा होइन । तर यसभन्दा पछाडिको कुरा चाहि ठूला छन् ।’ उनले पनि केही नेतालाई भ्रष्टाचार आरोपमा पूँर्जी काट्ने तयारी भइरहेको सुइको पाएपछि महाअभियोगको प्रस्ताव छापामार शैलीमा दर्ता गरिएको दाबी गरे । 

‘भ्रष्टाचार बढ्यो, त्यो नियन्त्रण गर्नु तिम्रो जिम्मेवारी थियो, गरेनौ भनेर महाअभियोगको प्रस्ताव  आएको भए जनताले बुझ्थे र त्यो तार्किक पनि हुन्थ्यो ।’ उनले भने–‘लोकमानमाथिको अभियोग उनको  काम अुनसार मिल्ने भएन । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने उहाँको काम हो, अधिकांश राजनीतिज्ञ भ्रष्टाचारबाट छुटेका छैनन् । भ्रष्टाचार व्याप्त छ । तर तिमीले भ्रष्टाचार रोक्न सकेनौ भन्ने अभियोग नै लगाइएको छैन ।’

उनले राजनीतिक दलका नेताहरु लोकमानले आफूहरुलाई नपुछेको, दाम नचढाएको रीस फेर्न क्रियाशील भएका आरोप पनि लगाए । ‘हामी राजा भयौं, राजालाई तिमीलाई दाम राख्न आएनौं भन्ने मात्र गुनासो हो ।’ उनले थपे–‘बरु लडाकू शिविरको ठूलो फाइलमा किन कारबाही गरेनौं भनेर आरोप लगाउनुपथ्र्यो । यस्ता कुरा आएको भए महाअभियोगको प्रस्ताव ठीक हुन्थ्यो ।’ उनले महाअभियोग प्रस्ताव दर्ता गर्दा संवैधानिक व्यवस्था र प्रक्रिया समेत मिचिएको दाबी गरे । 

अर्का, विश्लेषक मनिष सुमनले मधेशी मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको सहमति अनुसार संविधान संसोधन विधेयक पेश हुने वातावरण बनिरहेको बेला त्यसलाई टार्न र विषायन्तर गर्ने कुत्सित मनशायले महाअभियोगको पासा फालिएको दाबी गरे । ‘जब–जब संविधान संसोधनको विधेयक दर्ता हुने  माहौल बन्छ, तब तब ठूला दलले यो वा त्यो बाहाना झिकेर बिषयलाई डाइभर्ट गरिरहेका छन् ।’ उनले भने–‘त्यही श्रृंखलाको रुपमा लोकमान महाअभियोगको प्रस्ताव आएको हो । संविधान संसोधनलाई टार्न ल्याइएको कडी मात्र हो यो ।’ 

उनले समेत ठूला दलका नेताहरुले लोकमानले आफूलाई नपुछेको रीस फेरिरहेका आरोप लगाए । ‘नेताहरुले आग्रह पूर्वाग्रह राखेर यो काम गरेका हुन् ।’ सुमनले भने–‘मलाई किनसलाम गरेन भनेर गरिएको कारबाही हो ।’ 

(विशेष कुराकानीको पूरा अंशका लागि भिडियो हेर्नुहोस् ।)