काठमाण्डौ । अन्तर्राष्ट्रिय अवार्डहरु लगातार जित्ने क्रममा चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले बेलायतमा पनि उत्कृष्ट अवार्ड हात पारेको छ । 

बेलायतको स्कटल्याण्डमा आयोजित पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा भाग्यले बाँचेकाहरुले उत्कृष्ट डकुमेन्ट्री अवार्डको टाइटल हात पारेको हो । 

नेपाल–बेलायत सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा स्कटल्याण्डका नागरिकहरुद्वारा पहिलोपटक आयोजित चलचित्र महोत्सवमा नेपालका तर्फबाट अन्य वृत्तचित्र पनि प्रतिस्पर्धामा थिए । जसमा ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्ट वृत्तचित्रको ट्रफी उचाल्यो भने सबिन बास्तोला निर्देशित ‘सुनपानी’ले ‘उत्कृष्ट फिचर फिल्म’, कमल भट्ट निर्देशित ‘चोख्यानी’ले ‘उत्कृष्ट सर्ट मुभी अवार्ड’ जितेको चलचित्र महोत्सवकी निर्देशक सुसन फरोगीले बताइन् । 

एकपछि अर्को अन्तर्राष्ट्रिय अवार्ड जित्दा निकै खुसी मिलेको ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले बताए । राजधानीमा केही समयअघि सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(किम्फ)मा ‘भाग्यले बाँचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जित्न सफल भएको थियो । यो वृतचित्रले भारतको राजधानी नयाँदिल्लीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सव र मुम्बई नजिक नाशिक शहरमा भएको नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि उत्कृष्ट अवार्ड हात पारिसकेको छ । 

बितेको तीन महिनामा ३२ वटा भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ प्रतिस्पर्धाका लागि छनौट भइसकेको निर्देशक पाण्डेले जानकारी दिए । नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको प्रतिनिधिमूलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ ।