काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भारतको पेटभित्रको कालोमैलो ननिख्रिएको दाबी गर्दै मुलुकमा जुनसुकै बेला ठूलो संकट आउने संभावना रहेको बताएका छन् । 
 

शुक्रबार पार्टीको इटहरी उपमहानगर कमिटीको पहिलो नगर अधिवेशन उद्घाटन गर्न त्यहाँ पुगेका महासचिव पोखरेलले त्यस्तो दाबी गरेका हुन् । उनले छिमेकी भारतको पेटभित्रको कालोमैलो ननिख्रिएका कारण राष्ट्रिय संकटको कालो बादल मडारिरहेको बताए । ‘अहिले पनि खतरा टरेको छैन, छिमेकीको पेटभित्रको कालोमैलो जुनसुकै बेला प्रकट हुनसक्छ ।’ उनले भने–‘आगामी दिनमा हिजोभन्दा पनि बढी चुनौति र संकट आउनसक्छ ।’ 
 

भारतले नेपाललाई भूटानजस्तै परनिर्भर बनाउन खोजेको आरोप लगाउँदै महासचिव पोखरेलले थपे–‘भूटानलाई चुनावको बेला नाकाबन्दी लगाएर त्यहाँको सरकार गिराई मन परेका मान्छेको सहभागितामा सरकार बनाएर भारतले आफ्नो अधिनमा राखेको छ । नेपालमा समेत त्यही अभ्यास दोहोर्याउन खोजियो, तर सफल भएन ।’ 
 

उनले जनताका प्रतिनिधिले बनाएको संविधान जारी गर्ने बेलामा ‘किन सोधेनौं’ भनेर भारतले बखेडा झिकेको र त्यसैको रीसमा नाकाबन्दीको सकस थोपरेको आरोप समेत लगाए । ‘उहिले–उहिले गाउँका जमीनदार र मुखियाले गरीबले छोरालाई स्कूल पठाउँदा मलाई किन सोधिनस् भनेर अप्ठ्यारो पारेजस्तै प्रवृति भारतले देखायो ।’ उनले भने–‘हामीले हाम्रा लागि बनाएको संविधान हो । छिमेकीलाई मन नपरे नपरोस्, तर यसको सफल कार्यान्वयन गराइछाड्छौ ।’ उनले भूटानमा जस्तो भारतीय दादागिरी नेपालमा नचल्ने र त्यसलाई एमालेले विफल बनाइदिने चेतावनी समेत दिए । ‘हाम्रो संविधान हाम्रा लागि हो, चीन, भारत वा अमेरिकाका लागि होइन ।’ उनले भने–‘हाम्रा अध्यक्ष केपी शर्मा ओलीको अडानले संविधान बन्यो, अब अरुको साथ नभए पनि हामी यसको सफल कार्यान्वयन गराएरै छाड्छौं ।’ 
 

महासचिव पोखरेलले भारतले नेपाललाई भूटानजस्तै साइजमा ल्याउन लगाएको नाकाबन्दीको हतियार समेत सफल नभएपछि उसलाई ‘टोक्नु न बोक्नु’को अवस्था भएको दाबी गरे । ‘बरु नाकाबन्दीले उल्टो भारतको बदनामी भो ।’–उनले थपे । 
 

संविधानको पक्षधर शक्तिहरु एक ठाउँमा उभिएर संविधानको कार्यान्वयनको चुनौति सामना गर्नुपर्नेमा कांग्रेसलाई प्रतिपक्षी बन्ने रहर जागेको कटाक्ष गर्दै महासचिव पोखरेलले भने–‘हामीले सरकारमा आउन भनेर कांग्रेससँग बिन्ती बिसाएका होइनौं । कांग्रेस सकारात्मक छैन भने उसले प्रतिपक्षीको रहर पूरा गरोस्, राष्ट्रिय हितको सवालमा एमाले अब एक्लै भए पनि अगाडि बढ्छ, रोकिन्न ।’ 
 

उनले राष्ट्रिय राजनीतिको चुनौतिको पहाडको टाउकोमा टेकेर एमाले अघि बढिरहेको र मुलुकमा एमाले जुन ठाउँमा उभियो, राष्ट्रिय राजनीतिको मीयो त्यही ठाउँमा स्थापित भएको दाबी समेत गरे । 
 

१ नम्बर प्रदेशको राजधानी इटहरी
संविधानमा उल्लेख ७ प्रदेशको संघीय संरचना अन्तरगत यसका हेडक्वार्टरहरु टुंगो नलागेको अवस्था र संविधान कार्यान्वयनको चरण नै जटिलपूर्ण रहेको अवस्थामा महासचिव पोखरेलले १ नम्बर प्रदेशको राजधानी इटहरी नै रहेको घोषणा गरिदिएका छन् । उनले आफ्नो सम्बोधनको सुरुवातमै ‘इटहरी १ नम्बर प्रदेशको राजधानी बनिरहेको ठाउँ’ भनेका हुन् । उनले आफ्नो भाषणको प्रारम्भिक समयमध्ये अधिकांश इटहरी के कारणले राजधानी बन्न लायक क्षेत्र हो भन्ने बिषयमै खर्च गरे । ‘इटहरी इतिहास मात्र होइन, अब भविष्य पनि बन्नुपर्छ ।’ उनले भने–‘स्थानीय निकायमा जनप्रतिनिधि हुँदा इटहरीमा एमाले नेतृत्वले गरेको कामको देशैभरि प्रशंसा भएको थियो । अब पनि १ नम्बर प्रदेशको राजधानी बन्ने ठाउँले सोही अनुसार काम गर्नुपर्छ, इटहरीले देशलाई मार्गदर्शन गर्नसक्नुपर्छ ।